कोरोना, लकडाउन र भूमिहीनको पीडा

दीपिका अर्याल

कोरोना भाइरसले सारा विश्वलाई गम्भिर पाठ सिकाइ रहेको छ । नेपालमा माघ ९ गते पहिले चोटी कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म २१७ जनामा सङ्क्रमण फैलिइसकेको छ । ती मध्ये ३४ जना निको भई घर फर्किएका छन् । माघ महिनामा कोरोनाको सङ्केत देखिएपनि सरकारले चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन गर्यो । पटक पटक गरि लकडाउनको अवधि थप गरि आगामी जेठ ५ गतेसम्मलाई पु¥याएको छ ।

हरेक विपत्तिले गरिब तथा कमजोर वर्गलाई नै गम्भिर असर पार्ने रहेछ । किनभने गरिब तथा कमजोर वर्गहरू असुरक्षित क्षेत्रमा काम गर्छन् । कार्य क्षेत्रसँगै आर्थिक सामाजिक पक्षहरू कमजोर हुन्छन् ।

नेपालमा कोरोना सङ्टमा गरिब तथा कमजोर वर्गहरू परेका छन् । उनीहरुको कर्म गर्ने थलो बन्द भएको छ । साथै, सहयोगी हातहरू र मनहरू टाढा हुन थालेका छन् । कोरोनाको असर बहुआयमिक हिसाबले देखा पर्दै गएको छ । दैनिक ज्याला मजदूरी गर्ने र गरिब वर्गले अनुमान गरे भन्दा ज्यादै भिन्न हिसाबले प्रभाव र दुःख भोगेका छन् ।

भूमिहीनहरूको पीडा झनै दर्दानक देखिएको छ । किनभने उनीहरू जीविकोपार्जनका लागि दैनिक ज्यालादारीमा निर्भर थिए । उनीहरूको उत्पादन गर्ने जमिन छैन । हरेक आवश्यकता परिपूर्ती गर्नका लागि पाखुरी र ज्याला मजदूरीमा भर परेका हुन्छन् ।

काभ्रे पनौती नगरपालिका– ९ का भरत कमर, भूमिहीन हुन् । सार्वजनिक स्थानमा बनाएको उनको सानो घर २०७२ सालको भूकम्पले भत्कायो । भूकम्पको घाउ अझै निको हुन सकेको छैन । पूर्ण रुपले भत्किएको घर अझै बन्न सकेको छैन । अहिले कोरोना महामारीको चेपुवामा परेका छन् । उनी दैनिक ज्यालादारी गरी परिवार चलाउथे । चैत ११ देखि उनको दैनिक ज्यालादारीको काम रोकियो । मजदूरी गर्न नपाएपछि उनको परिवारलाई अब के खाने पिरलो छ । श्रीमती गर्भवती छिन् । गर्भवती श्रीमतीलाई पोषिलो आहारको कुरा छाडौँ पेट भराउन समस्या हुन थालेको उनी बताउँछन् । नगरपालिकाले दिएको राहत सकियो । खेती गरौं जमिन छैन । घर बनाउदा लागेको ऋणको ब्याज पनि बढीरहेको छ ।

पनौती– ११ का भुपाल केसी निर्माण क्षेत्रमा काम गर्छन् । उनी दक्ष मिस्त्री हुन् । लकडाउनसँगै निर्माणका कामहरू रोकिएको छ । अव उनको काम पनि रोकिएको छ । दैनिक काम गरेर जीविका धान्नुपर्ने बाध्यता भएका उनको परिवारलाई यति बेला हातमुख जोर्न धौ धौ छ । उनको घर बनिरहेको भूमि आफ्नो होइन । खेती गर्ने जग्गा त धेरै परको कुरा हो ।

काभ्रे पाँचखाल नगरपालिका– ८ का सुशिल परियार मृगौला रोगी छन् । उनी पनि भूमिहीन हुन् । उनको ५ जनाको परिवार छ । बुवाको स्वास्थ्यका कारणले गर्दा २ छोराहरूले पढाई छाडे । श्रीमतीससँगै २ किशोर छोराहरूले ज्यालामजदूरी काम गरि घर खर्च र उपचार खर्च जुटाउने गर्थे । लकडाउनको कारण उनीहरूले मजदूरी कार्य रोकिएको छ । दीर्घ रोगी श्रीमान्लाई कसरी औषधी खुवाउने भन्ने चिन्ताले श्रीमतीलाई पिरोली रहन्छ । गाउँघरमा सबैलाई अनाज थुपार्ने चटारो छ तर, गरिब परिवारका उनीहरू टुलुटुलु हेरि रहन मात्र बाध्य छन् ।

पाँचखाल– ४ लामिडाँडामा सामुदायिक वन क्षेत्रको जग्गामा बसोबास गर्ने सुभद्रा बिक दैनिक ज्यालादारी गरेर घर चलाउथिन् । बिरामी श्रीमान्को हेरचाहसँगै मजदूरी गर्ने काम लकडाउनले बन्द भएको छ । बुढौली ज्यानलाई भौतिक सुख भए पनि मनलाई अस्थिरताले छोपेको छ । कोरोनालेभन्दा भोकले मरिने चिन्ता धेरै छ ।

माथि उल्लेखित घटनाहरू केवल प्रतिनिधिमुलक घटनाहरू मात्रै हुन् । बाहिर आउन नसकेका कैयन यस्ता घटनाहरू नेपाली समाजमा छन् । नियतीलाई दोष दिनेहरूको कमी छैन । अनाहकमा अन्यायको मारमा परेका भूमिहीन परिवारहरूलाई कोरोना प्रभावले थिचिरहेको छ । राज्यका सम्बन्धित निकायहरूको विशेष ध्यान पुगेको देखिँदैन ।

बिना काम मुखमा माम पर्ने अवस्था छैन । रोगसँग लड्ने की भोकसँग लड्ने ! विश्व जगतमा आर्थिक मन्दीको असर देखिइसकेको छ । अरुलाई भन्दा भूमिहीन परिवारलाई बढी मार परेको छ । अन्यायपूर्ण सामाजिक ब्यवस्था, स्रोतको असमान वितरणका कारण भूमिहीन र भूमिपतिबीचमा खाडल गहिरो हुँदै गएको छ । भावी दिनहरूमा उल्लेखित भूमिहीनहरू, दैनिक मजदूर गर्नेहरू, गरिब तथा मध्यम परिवारहरू गरिबीको दल दलमा फस्ने निश्चित छ ।

गाउँमा भकारी र सहरमा बैँक ब्यालेन्स भएका परिवारहरू खाद्यान्न तथा अत्यवाश्यक वस्तुको हिसाबले सुरक्षित छन् । अनिकाल या विपद्मा ज्यान नै जोगाउने हो । सास भए आश हुन्छ । तर भूमिहीन तथा दैनिक ज्याला मजदूरी गर्ने गरिबहरूसँग न भकारी बाध्ने खेतबारी छ, न बैँक ब्यालेन्स गर्ने नोकरी व्यवसाय नै छ । गाँउघरमा खानेकुरा सके बुईगल या आटी चढ्छन, सागपात तरकारी खोज्न करेसाबारी जान्छन् । सहरमा एटिएम मेसिन जान्छन् । भूमिहीन कहाँ जाने ?

देशभर लाखौँ परिवारहरू भूमिहीन छन् । वर्षौदेखि भूमिहीन वर्गहरू आर्थिक सामाजिक राजनीतिक पक्षले पछाडी छन् । भूमि तथा अन्य स्रोतहरूको पहुँचबाट टाढा भएकै कारण हरेक प्रकारको विपद् तथा अस्थिरताको सिकार हुनु परेको छ ।

कोरोनाको असर ज्यादै गम्भिर प्रकृतिको छ । आगामी दिनहरूमा अप्रत्यासित हिसाबले फरक प्रकृतिको दुःख कष्टहरू आउने देखिन्छ । तर्सथ, भूमिहीनहरूको दिगो व्यवस्थापनको लागि भूमि उपलब्ध गराई उत्थानशिल गाँउ समाज निर्माण गर्दै लैजानुपर्ने आवश्यकता छ । भावी दिनहरूमा तीनै तहका सरकारले सामाजिक न्यायसहतिको दीर्घकालिन योजना तथा कार्यक्रमहरू निर्माण गर्नुपर्ने देखिन्छ ।

अन्तमा, कोरोनाले सङ्कटमा रहेका गरिब भूमिहीनहरूलाई स्थानीय सरकारहरूले तत्काल पर्याप्त राहतको व्यवस्था गर्नुपर्ने देखिन्छ । यो सङ्कट छिट्टै समाधान हुने लक्षण देखिँदैन । भूमिहीनहरूलाई बाँझो जमिनमा खेतीपती गर्नका लागि स्थानीय निकायले भूमि स्रोतको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ । विगतमा भूमि सम्बन्धि मुद्दाहरू समाधानका लागि धेरै आयोगहरू निर्माण भए तर समस्या यथावत छन् । देशमा पटक पटक राजनीतिक व्यवस्था परिवर्तन भए । संविधान अन्तर्गत धेरै नीति नियमहरू बने । तर भूमिहीनहरूको अवस्था तथा परिस्थितीमा कुनै परिवर्तन भएन । हजारौं भूमिहीनहरू त्यस्तो व्यवस्थाको प्रतिक्षामा छन् जसले भूमिहीनको ट्याग सदाका लागि हटाउने छ । समृद्धिको बाटोमा लैजाने छ ।

प्रकशित मिति : बुधबार, मे १३, २०२०

(उक्त लेख, २०७७ वैशाख २८ गतेको सेतोपाटीमा प्रकाशन भएको थियो ।)