कोरोना, लकडाउन र राज्यको दायित्व

भोला बस्नेत

नेपालमा बन्दाबन्दी भएको पनि डेढ महिना नाघ्यो । पाँचौं पटक थपिएको बन्दाबन्दीको समय आगामी जेठ ५ गते सम्म छ । कठिन अवस्था भोग्दै छौं, भोलि त केहि सहज होला भन्दाभन्दै लामो समय वितिसक्यो । यसले मानव दैनिकीलाई ठूलै असर पु¥याउँदै गएको छ । सामान्य अवस्था आउन अझै कति समय लाग्ने हो एकिन छैन ।

कोरोना भाइरसको कारण प्रत्येक दिन संक्रमण र मृत्यु हुनेको दर बढ्दै गइरहेको छ । यो अवस्था बढ्दै जाँदा भविष्यमा मानव जातीलाई ठूलै नोक्सान पु¥याउने आङ्कलन गर्न सकिन्छ । तर, एकिन भन्न सकिने अवस्था छैन । स्थिति भने डरलाग्दो छ ।

कोरोना कहरले विश्वका धनी र सम्पन्न राष्ट्र पनि थला पर्न थालेका छन् । अमेरीका, चीन, फ्रान्स, इटाली, युरोप जस्ता देशहरुमा पनि यसले नराम्ररी प्रभावित गरिसकेको छ । चीनबाट सुरु भएको भएपनि त्यहाँ अहिले यो माहामारीको असर स्थिर अवस्थामा भएको समाचारहरु आएका छन् । कुनै पनि बेला पुनः फैलन सक्ने आङ्कलनहरू पनि गरिएका छन् ।

शक्तिशाली देशहरूले पनि यस माहामारीको क्षति रोक्न सक्ने कुनै उपाय निकाल्न सकेका छैनन् । नेपालमा त झन के नै पो रोक्न सकिएला भन्ने आम चिन्ता बढ्दै गएको छ । मानिसहरुमा त्रास छ नै ।

ठिक पाँच वर्ष पहिले नेपालमा भूकम्प जाँदा नेपालका ३१ जिल्ला प्रभावित हुन पुगेका थिए । धेरै मानिसको घर भत्किएर बाहिर पालमुनी बास बस्नु परेको सझना ताजै छ । ९ हजार भन्दा बढीको मृत्यु भयो । हजारौँ घाइते भएका थिए । घर, विद्यालय र सरकारी कार्यालयहरू ध्वस्त भएका थिए । उद्धार र राहतमा सबै जान लागि परेका थिए । पाँच वर्ष विते पनि पुनर्निर्माणका कामहरू बाँकी नै छन् । भूकम्पले अस्त व्यस्त बनाएको सामाजिक, आर्थिक गतिविधि र दैनिक जनजीवन सुचारु गर्न पाँच वर्षमा पनि नसकिएको कुराले विपद् व्यवस्थापन हाम्रो स्थान कहाँ छ स्पष्टै छ ।

अव अहिले सुरु भएको यस माहामारीका कारण कति समय यसरी बन्दाबन्दीमा बस्नु पर्ने हो ? टुङ्गो छैन । यस्तो अवस्थामा ती दैनिक मजदूरी गर्ने, ज्यालादारी गर्ने र विहान काम गरी बेलुकीको खानाको जोहो गर्नुपर्ने मानिसहरूलाई समस्या छ । भूमिहीन सुकुबासी र भूकम्प पीडित विस्थापित परिवारलाई समस्या छ ।

सहरमा बस्ने मानिसहरू बरान्डा र छतमा गमलामा तरकारी लगाइरहेको, तरकारी लगाई सकेकाले गोडमेल र मलजल गर्न थालेको फोटोहरू सोसल मिडियामा देख्न पाइन्छ । सहरबाट गाउँ गएकाहरूले कोदालो समाएको, घाँस काट्न डोको बोकेको, मकै गोडेको, बाख्रा चराएको, मोही पारेको फोटोहरू सोसल मिडियामा देखिइरहेको छ ।

लामो समय सहरमा बसेकाहरूका लागि गाउँमा यस्तो काम केही समय रमाइलो नै होला । घरमा भएका परिवारलाई पनि केहि हदसम्म सहयोग भएको महशुस होला । यसले परिवारमा राहत पनि महशुस गराउँला । तर केहि समयको रमाइलोका लागि भन्दा पनि परिवारको खाद्यन्न उत्पादनमा, आर्थिक आय आर्जन वृद्धिमा के कति सहयोग पुग्छ ? अहिलेदेखि विचार गर्नुपर्ला की ? भविष्यका लागि पनि सिकाई हुन सक्छ ।

धेरै मानिसहरूले यो पाँचौ पटकको बन्दाबन्दी खुकुलो बनाउने र प्रभावित जिल्ला बाहेकका जिल्लाहरूमा जनजीवन सहज हुने अड्कलबाजी गरेका थिए । तर त्यस्तो भएन, यथावत थपियो ।

यो कोरोना कहर पनि एक मानवीय सङ्कट हो । यस्तो सङ्कटको समयमा खानै समस्या परेका नागरिकहरूलाई राहत दिनुपर्छ । स्थानीय सरकार बलियो र जिम्मेवार हुनुपर्छ । आफ्नो क्षेत्रमा नागरिकलाई हैसला पनि दिनुपर्छ । यसमा राज्यको निकायको महत्वपूर्ण जिम्मेवारी र दायित्व हुनुपर्छ ।

अहिलेको बन्दाबन्दीमा दैनिक ज्यालादारी गरेर हात मुख जोड्ने परिवारको लागि कतिपय स्थानमा स्थानीय सरकार र क्लवहरूले खाना दिन थालेका छन् । यो ज्यादै राम्रो काम हो । तर, अव कतिदिन सम्म यस्तो गर्नुपर्ने हो । यसलाई दीर्घकालिन सोंचको रुपमा विकास गर्नुपर्छ । गाउँघर र सहर बजारमा पनि मानिसहरू भोकमरीको चपेटमा पर्दै जान थालेको समाचारहरू बाहिर आएका छन् । यो समयमा मानिसहरूलाई राज्यले विशेष ध्यान दिनुपर्छ ।

लकडाउनको कारण कृषि क्षेत्रमा पनि नराम्रो समस्या परेको छ । व्यवसायिक रूपमा लगाएका तरकारीहरू कति बारीमा नै कुहिना थालेका र कति किसानले गाईवस्तुलाई दिन थालेका समचार आउन थालेका छन् । यसरी स्थानीयस्तरमा उतपादन भइरहेका तरकारी, फलफुल तथा दैनिक खाद्य वस्तुहरूलाई सहजै बजार वा उपभोक्तासम्म पुग्ने व्यवस्था गर्नु सरकारहरूको मुख्य जिम्मेवारी हुर्नुपर्छ । यसो गर्दा किसानहरूलाई प्रोत्साहन मिल्ने, हौसला बढ्ने छ, भने यस्तो सङ्कटमा किसानको आम्दानी पनि बढ्छ ।

कोरोना सङ्क्रमण नदेखिएका जिल्लाहरूमा खेतीपाती गर्नको लागि सहज कसरी बनाउन सकिन्छ ? यस विषयमा पनि राज्यको ध्यान जानुपर्छ । खेतिपातीको सिजन हो यो । मारमा परेका किसानहरूलाई राहत दिई निरन्तर उत्पादनमा लगाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ ।

प्रकशित मिति : मंगलबार, मे १२, २०२०

CSRC New Strategy Launched