लकडाउनको सदूपयोग र कृषिको काम

फुलमाया लामा

आज हामी विश्वब्यापी रूपमा फैलिरहेको नोवल कोरोना भाइरसको महामारीको त्रासमा छौँ । यस महामारीले विश्वलाई नै चुनौती दिइरहेको छ । विकसित देशहरू पनि अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त छन । करिब करिब विश्वका सबै भागमा कोरोना भाइरस फैलिसकेको छ ।

नेपालमा पनि कोरोना भाइरसका कारण २०७६ चैत्र ११ गते घोषणाबाट जारी भएको लकडाउन जेठ २० गते सम्म हुने तोकिएको छ । सम्पूर्ण उद्योग, बजार कार्यालयहरू बन्द रहँदा हामी नेपालीहरू पनि यसैको मारमा परेका छौँ ।

दैनिक काम तथा आय आर्जनका क्रियाकलापहरु, विभिन्न रोजगार र ब्यापार ब्यवसायहरू पनि ठप्प प्रायः नै छ । सहर बजारमा सुनसान छाएको छ । सबै तिर खाद्यान्नको अभाव हुन थालिसकेको छ । नेपालमा पनि लकडाउन भएको यतिको दिन वितिसकेको छ यसको असरले नेपाली अर्थतन्त्र र सामाजिक जनजीवन अति नै प्रभावित बन्दै गइरहेको छ ।

नेपालमा यस महामारीको सङ्क्रमण हालसम्म ९०० भन्दा बढी व्यक्तिमा देखिइसकेको छ, भने १८३ जना निको भई कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् । तर पनि दुःखको कुरा १ जना सुत्केरी महिलासहित ५ मृत्यु भएको छ ।

यो खबरसँगै नेपालमा कोरोना भाइरसको त्रास बढ्दै गइरहेको छ । यति बेला मुख्य सहरहरूमा पनि सन्नाटा छाएको छ । रोजगारी र ब्यापार ब्यवसायका लागि गाउँघरबाट बाहिर रहेकाहरू पनि आफ्नो आफ्नो घर फर्कि परिवारको साथमा समय ब्यथित गर्दै छन् ।

आम्दानीको स्रोत र आयआर्जन गर्ने माध्यम नै सङ्कटमा परेकाले कोठा भाडामा बस्नेहरूको विलौना र विचल्ली भईरहेको समाचारहरु दैनिक रूपमा सुनिदैछन् ।

खाद्यान्नको अभावले गर्दा भोकमरीको अवस्था सिर्जना हुने सम्भावना देखिएको छ । यसले अझै कस्तो परिस्थिती निम्त्याउने हो भन्न सकिने अवस्था छैन ।

अहिलेको विषम परिस्थितीले समस्या र असर त पारेको छ नै । त्यससँगै अवसर र सिकाई पनि भएको छ । भनिन्छ, हरेक विपत्तीले विनाससँगै अवसर र सिकाईको पनि पाठ दिएको हुन्छ । हो त्यसैले हामीले यस विषम परिस्थितीलाई आत्मसाथ गर्दै अघि बढ्नु आवश्यक छ । हिजोको दिनमा सहर केन्द्रित हुनेहरू पनि आज गाउँघरको वातावरणमा रमाउन थालेका छन् ।

वर्षौदेखि खेतीपातीबाट टाढा रहेकोहरू पनि अहिले गाउँघरमा फर्की यही काममा ब्यस्त देखिन्छन् । यो खेतीको समयले गर्दा पनि गाउँघर फर्केकाहरू खाली बस्नु परेको छैन । वर्षाैदेखि खेतीमा समय दिन नपाएकाहरू पनि अहिले खेतबारीको काममा रमाउने अवसर पाएका छन् । हामीमा माटोसँगको मित्रता अनि खेतबारीको हरियालीले गर्दा पनि केही ऊर्जा थपेको छ । यस समयको सदूपयोग गर्दै खेतीपातीमा सक्रिय भई कृषिमा योगदान दिन सकिन्छ । कालकारखाना, ब्यापार ब्यवसाय नै ठप्प भइरहेकोले आर्थिक सङ्कट र भोकमरीको समस्या निम्तिन सक्छ । यस घढीको सामना गर्नको लागि बलियो हतियार कृषि क्षेत्र नै रहेकोे मैले बुझेकी छु ।

भोलीका दिनमा कोरोना भाइरसको कारण आर्थिक मन्दीले गर्दा हामीलाई परनिर्भर बनाउने अवस्था आउन सक्छ । बेलैमा सचेत हुन जरुरी छ । हामीले आफ्नो परिवारको लागि मात्र भए पनि वर्ष भरी पुग्ने अन्नबाली र तरकारी आफैले उब्जनी गर्न सक्यौँ भने ठूलो प्रगती हुने छ ।

आफ्नो जमिन जे जति छ सबै जमिनमा खेती लगाउन सरकारले पनि सूचना जारी गरेको छ । हामी खेतीमा रमाउने किसानहरू जस्तो सुकै परिस्थितीमा पनि खेतीमा रमाउन सक्षम नै छौं । म पनि यस लकडाउनको समयमा परिवारसँगै रमाउदै र खेतीपातीको काममा नै ब्यस्त भइहेको छु । मकै छर्नको लागि मल बोक्ने, मकै छर्ने र गोड्ने सम्मको काममा यसपाली आफू पनि सक्रिय रूपमा सहभागी हुन पाएँ । अदुवा रोप्ने र अदुवामा पनि मकै पोप्ने र खुसार्नी रोपेको छु ।

अहिले तराईमा कोरोना भाइरसको सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै छ । मकवानपुरमा विशेष गरी तरकारी तराईबाट नै आयात हुने भएकोले उक्त तरकारीहरू खरिद गर्न पनि डर लाग्दो परिस्थिती छ । त्यसैले आफ्नो करेसा बारीमा नै हरियो साग सब्जी लगाउने र घर वरपर सरसफाईमा पनि समय दिइरहेको छु । अव त खेतमा धान रोप्नको लागि धानको बीउ राख्ने समय पनि भइसकेको छ ।

तर पनि धानको उन्नत जातको बीउ र मल पाउन गाह्रो अवस्था छ । स्थानीय कृषि सहकारीमा आफू शेयर सदस्य भएकोले मकैको बीउ त सहज रूपमा नै पाइयो । तर अहिले सहकारीमा पनि धानको बीउ ल्याउनको लागि माग बढी भएकोले पु¥याउन समस्या भएकोले कसरी जुटाउने हो भनी चिन्ता लागिरहेको छ । गाउँघर सबैतिर हरियाली वातावरण र बाहिर रहेकोहरू पनि यो समयमा गाउँ भरी हुदाँ गाउँको रौनक नै फरक छ । सबै जना कृषिमा नै ब्यस्त देखिन्छ ।

घर वरपर करेसाबारीमा तरकारी लगायौँ भने बजारको विषदी युक्त तरकारीमा पनि हामी भर पर्नु पदैन जसले गर्दा स्वास्थ्यलाई राम्रो हुन्छ भने पैसाको पनि बचत हुन्छ । ताजा र अर्गानिक तरकारी आफ्नै बारीमा उत्पादन गर्नको लागि यो समय मेरो लागि धेरै नै फलदायी भएको छ । समयमा नै कृषिमा लगानी ग¥यौँ भने भोली खाद्यान्नको अभाव हामीले खेप्नु पर्दैन कि भन्ने लाग्छ ।

यो समयमा सहरमा सन्नाटा छाए पनि गाउँघरमा मेहनती हातहरूको लागि अवसर छ । पशुपालन र कृषि उपज नै अवको हाम्रो देशको अथतन्त्रको बलियो माध्यम बन्ने छ । त्यसैले हामी सबैले आ–आफ्नो लागि खाद्यान्नमा आत्मनिर्भर भयौँ भने अरुको मुख ताक्नु पर्दैन । बचेको अन्नबाट पनि आय आर्जन गर्न सकिन्छ । बाहिर किन्न नपरेपछि पैसाको पनि जोहो हुनेछ भने आयआर्जनसँगै ब्यस्त जीवन र स्वस्थ जिन्दगी हुनेछ । सरकारले पनि कृषि क्षेत्रको विकासको लागि विभिन्न योजना तथा अवसरहरूको ब्यवस्था गरेको छ । अवको अवसर नै कृषिको सम्भावना हो । त्यसलाई मूर्तरुपदिन लागि परौं ।

प्रकशित मिति : बिहिबार, मे २८, २०२०