लकडाउन डायरी : उत्पादित तरकारी बेच्न पनि समस्या

कल्पना आचार्य

कोरोना भाइरस महामारीको चर्चा यतिबेला विश्वभरी छ । यसले विश्वमा मानव जातिलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । यसैको कारण भएको लकडाउनले अहिले अधिकाशं मानिसहरूको दैनिकी फेरीएको छ । घरभित्रै बस्नु परिरहेको छ ।

लकडाउनको प्रभाव हाम्रो काममा पनि प्रत्यक्ष परेको छ । दैनिक कार्यालय जानुपर्नेमा अहिले घरमै बस्नुपर्ने बाध्यता छ । कार्यालयको सबै काम घरमा बसेर गर्न सकिने खालको कमै मात्र हुँदा सबै काम गर्न सक्ने अवस्था पनि भएन । कार्यालय आउ जाउ गर्दा कोरोना भाइरस सर्न सक्ने सम्भावना भएकोले घरबाट बाहिर जान डर उत्तिकै छ ।

चैत ११ गतेदेखि नै नेपालमा सुरु भएको लकडाउनले गर्दा गाउँघरतिर पनि हिडडुल गर्न समस्या परेको
छ । अझै कति दिन बन्द हुने हो एकीन छैन, तर त्रास बढ्दै छ । सधैं जसो कार्यालयको कामले हिडिरहनुपर्ने भएको हुँदा घरका मानिसहरूसँग बसेर राम्रोसँग कुराकानी गर्न पाइएको थिएन । अहिले घरमा सबै परिवारसँग बसेर समय बिताउन पाउँदा, कुराकानी गर्न पाउँदा परिवारका सदस्य पनि निकै खुसी हुनु भएको छ भने मलाई पनि खुसी लागेको छ ।

अहिले घरमा पनि खेतिपातीको काम गर्ने समय छ । लकडाउन अघिदेखि नै आलु, काउली, बन्दा जस्ता तरकारी खेती गरिएको थियो । मेरो सासु आमा, ससुरा बा यस्तो तरकारी खेतीमा पहिलेदेखि नै सक्रिय हुनुहुन्छ । अनुभवी पनि हुनुहुन्छ । हरेक वर्ष तरकारी खेतीबाट पनि राम्रो आम्दानी लिनुहुन्छ । अहिले पनि एउटा खेतमा उहाँहरूले पुरै काउली लगाउनु भएको थियो । केही बन्दा र अन्य तरकारी पनि छन् ।

उत्पादन राम्रो भएको थियो । भर्खरै उत्पादन भएको काउली लकडाउन सुरु हुँदा अलिअलि त बिक्री भयो तर पछि हुन सकेन् । यसरी उत्पादन भएको तरकारी बिक्री गर्न नपाएपछि आमा, बुबा धेरै चिन्तित हुनु भयो । खेतमै कुहिएर खेर जानेसम्म भएको छ । यो सिजनमा करिव १ लाख रुपियाँ आम्दानी काउली बेचेर लिने योजना थियो, तर सोचे अनुसार बिक्री भएन । अति कम मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता परेको छ ।

घरमा भएको आलु पनि बिक्री हुने स्थिती भएन । बारीमा भएको बन्दा तरकारी पनि बिक्री हुन सकेन । बन्दा खेती होटलहरूमा बिक्री गर्ने उद्देश्यले खेती गरिएको थियो । तर, अहिले होटलहरू पनि सबै बन्द नै छन् । त्यसो हुँदा तरकारी खेती गर्ने किसानहरूलाई झन बढी मर्का र समस्या यो लकडाउनले पनि गरेको अनुभूति भइरहेको छ ।

गाडीहरू नचलेपछि बाहिरी बजारमा पठाउन पनि समस्या भएको छ । घरमै भण्डारण गरिएको आलु पनि अवको केही समय बिक्री गर्न पाइएन भने कुहिएर खेर जाने हो की भन्ने चिन्ता छ । यो चिन्ताले कृषक परिवारका हामी चिन्तामा छौं । यस्तो समस्या सबै किसानको हो भन्ने लाग्छ ।

लकडाउनको बेला गाउँघरबाट पढ्न र रोजगारीका सिलसिलामा सहर बजारमा गएका, राजधानी काठमाडौंमा गएकाहरू पनि अहिले गाउँघर फर्केका छन् । घरमा बाबु आमा मात्र हुने र अरु बाहिर बस्ने चलन बढ्दै छ, गाउँघरमा पनि तर, यो कोरोना फैलने डर र लामो समय लकडाउन भएपछि उनीहरू पनि घर फर्की काममा लागेका छन् । यद्यपि विदेश गएकाहरू भने घर फर्कन पाएका छैनन् ।

कोरोनाको महामारीले खाद्यान्न अभाव हुने । भोकमरी फैलने हल्ला पनि उत्तिकै छ । यसो हुँदा गाउँघरमा पनि अव जग्गा जमिन बाँझो राख्नु हुँदैन केही न केही खेतीपाती गर्नुपर्छ भन्ने मान्यता बढ्दै गएको छ । हिजोका दिनमा बाँझो देखिने जग्गा जमिनमा अव हरियाली देखिन थालेको छ ।

अहिले स्वदेशभित्र रहेकाहरू गाउँघरमा आएका भएपनि विभिन्न बाध्यताले गर्दा विदेशमा रहेका, वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा पुगेकाहरू फर्किन पाएका छैनन् । यहाँ हुने परिवारका सदस्यहरू उनीहरूको विषयमा धेरै नै चिन्ता गरेर बसिररहेका छन् । केही पो भइहाल्छकी भन्ने चिन्ता छ । कोरोनाको कारण विदेशमा पनि नेपालीहरूको मृत्यु भइरहेको खबर दिनकै आउँछ, यसो हुँदा झन बढी चिन्ता परिवारमा पर्ने गरेको देखिन्छ ।

लकडाउन मेरो लागि कष्टदायक भने भएन । घर खेतीको काममा समय दिएर, घरको काममा सहयोग गरेर वितिरहेको छ । परिवारसँग मिलेर मकै गोड्ने, अदुवा रोप्ने, बेसार रोप्ने, खुर्सानी रोप्ने, जई घाँस काट्ने काममा केही सहयोग गरिरहेको छु । विवाह गरी गएको घरको खेत बारी के कति छन्, साँध सीमाना के कस्तो हो भन्ने सम्म चिन्ने मौका पनि पाएँ ।

प्रकशित मिति : सोमबार, मे २५, २०२०