लकडाउनको मेरो अनुभूति

सरोज गिरी

विश्व महामारिको रूपमा फैलिएको कोभिड– १९ को प्रभाव अन्यत्र झै मैले काम गर्ने क्षेत्रमा पनि परेको छ । नेपाल सरकारले महामारी फैलिन नदिनको लागि चैत्र ११ गते देखि देशलाई लकडाउन गरेको छ । म अहिले कार्य क्षेत्र हेटौडा छोडेर आफ्नो घर इटहरी फर्किएको छुँ ।

मेरो कार्य स्थल हेटौडा र घर इटहरी भएको कारण धेरै दिनदेखिको घर बस्ने इच्छा अपुरै थियो । जान आउन २ दिने लाग्ने भएकोले ४ दिनको छुट्टि लिएर गए पनि २ दिन त यात्रामा नै जान्थ्यो त्यसकारण जहिले पनि फर्किने बेलामा अझ एक, दुई दिन बस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । लकडाउनले त्यो इच्छा पुरा गरिदियो ।

घरमा बसेको नौ, दश दिन त धेरै रमाइलोसँग बित्यो । परिवारको साथ र पहिले देखिनै बाँकि रहेको घर व्यवहारका काम सबै मिली गर्दा दिनहरू बितेको पत्तै भएन ।

तर घरको काम र कार्यालयको काम हातमा नहुँदा घरमा बस्दा पनि दिक्क लाग्न थाल्यो । जसरी अफिसमा बस्दा घर जान मन लाग्थ्यो अहिले घरमा हुँदा अफिस जान मन लागिरहेको छ । संसारमा मान्छे जस्तो असन्तोषी जात अरु रहेनछ भन्ने आफैंबाट प्रमाणित भएको महशुुस गरेको छु ।

लकडाउनमा सबैतिर खाली जग्गा (माटो) मा तरकारी रोप्ने लहर चलेको छ । त्यहि लहरमा हामीले पनि छिमेकीसँग मिलेर छेउमा भएको खाली जग्गामा खनजोत गरेर तरकारी लगायौं । हेर्न जति सजिलो छ कृषि कर्म गर्न उतिनै कठिन रहेछ । २ दिन खनेर तरकारी रोप्दा हात भरी ठेला उठे । खाना समेत चम्चाले खानु प¥यो । हातमा ठेला उठेको देख्दा अफिसको आफ्नो काम नै सजिलो लाग्यो आफ्नो काम गाह्रो र अरु काम त सजिलो होला भन्ने सोच मेरो मस्तिष्कबाट मज्जाले भत्कियो । र हामीलाई खाद्यान्न र तरकारी उत्पादन गरी खान ठिक्क पारी दिने किसानहरू प्रतिको मेरो सम्मान सगरमाथा जस्तै चुलीयो ।

यो लकडाउनले घर बस्न पाए कति रमाइलो हुन्थ्यो भन्ने सोचलाई चिरेर घर र अफिस दुवै हाम्रो जीवनको महत्वपूर्ण पाटो रहेछ भन्ने अनुभूती गरायो । लकडाउन बढ्दै जादाँ बरु अफिसमा बसेको भए हुन्थ्यो कि जस्तो लाग्यो । सायद अफिसमा बसेको भए घर गएको भए हुन्थ्यो लाग्थ्यो होला । जति जे भने पनि मन जसरी बुझाए पनि वित्तको काम त अफिसमा र साथिहरू फिल्ड गए पछि मात्र हुने भएकोले यो अवधिमा खासै काम गर्न सकेको छैन ।

लकडाउनले गर्दा वरिपरिको, छरछिमेकहरूको दिनचर्या पनि नजिकसँग नियाल्ने मौका पाएँ । हाम्रै छिमेकी सानु दिदीलाई लकडाउन भन्दा अगाडि उनको श्रीमान् माइलाले (जो विद्युतिय रिक्सा चलाउथे) सधैं रक्सी पिएर पिट्थे । छोरा छोरीलाई पनि गाली मात्र गर्ने, पढाइमा कुनै मतलब वा सहयोग गर्दैनथे । श्रीमतीको कुरा सुनुवाई हुदैँनथ्यो । सानु दिदीले पनि अरुको घरमा सरसफाइको काम गरेर अलिकति पैसा कमाउनु हुन्थ्यो ।

तर लकडाउनपछि श्रीमानको कमाइ पूर्ण रूपले बन्द भयो । कमाएर राखेको पैसाले केहि समयमा नै सकियो । अब सानु दिदीको कमाइले मात्र घर खर्च पु¥याउनु पर्ने भयो । सानु दिदीले पनि घरको काममा श्रीमानको साथ र सहयोगको अपेक्षा गर्न थालिन् । तर श्रीमानले सुरुसुरुमा सहयोग गर्न मानेन् । तर जब रक्सी र खैनी खान पनि सानु दिदीसँग पैसा माग्नुपर्ने भयो अनि उनले बिस्तारै बिस्तारै घरको काममा सहयोग गर्न थाले । छोरा छोरीलाई पढाइमा सहयोग र माया गर्न थाले । रक्सी खाए पनि चुपचाप सुत्न थाले । बरु श्रीमतीले चै रक्सी नखान सम्झाउथिन् र रक्सी खानलाई पैसा नदिने कुरा गर्थिन् । पहिला श्रीमान्ले कराएको र गाली गरेका मात्र सुनिराखेको घरमा देखिएको शान्त वातावरणले देख्दा सुरुवातमा त अचम्म लाग्यो । अनि महशुस गरेँ महिला सशक्तिकरण र सबलीकरण्को औचित्यता र महत्व ।

आत्मनिर्भर केन्द्र र भूमि अधिकार मञ्चको भूमि अधिकार र संयुक्त पुर्जा सम्बन्धी अभियानका कारण हजारौं परिवारका महिलाहरूले भूमि अधिकार प्राप्त गरी आर्थिक तथा सामाजिक रूपले सबल भएका छन् । जसका कारण हजारौ सानु दिदीहरूले घर जोगाउन सामर्थ भएका होलान् । यस्ता परिवर्तनका झिल्काहरू उत्पन्न गर्न आत्मनिर्भर केन्द्र र भूमि अधिकार मञ्चको संयुक्त लालपुर्जाको अभियानमा जोडिन पाउँदा गौरव महसुस हुन्छ । गरिब, भूमिहीन तथा साना किसानहरूलाई भूमि अधिकारको अभियान मार्फत ससक्त गरी समाज परिवर्तनको कामलाई जस्तो सुकै चुनौती आएपनि निरन्तरता दिनु पर्ने आबश्यकता बढेको छ ।

प्रकशित मिति : शुक्रबार, मे १५, २०२०

CSRC Nepal