लकडाउनको अनुभूति : कोरोना विरुद्धको अभियानमा जुटा

धीरेन्द्र कुमार आर.सी.

जीवन चलायमान छ । जति चलायमान हुन्छ त्यति नै जीवनको विकास हुन्छ । चलायमान भएकै कारण मानव जीवन आज यो अवस्थामा आइपुगेको हो ।

जङ्गली युगबाट एक्काइसौं शताव्दीको आधुनिक युगमा पुगेको छ मानव जीवन । यसको लागि मानिसले कयौं सङ्घर्षहरू पार गरको छ । धेरै जोखिमहरू मोलेको छ । लामो समय खोज अनुसन्धानमा व्यथित गरेको छ । जसकारण मानिस निरन्तर विभिन्न अत्याधुनिक भौतिक प्रगतिको पथमा अग्रसर भइरहेका अवस्था हो । तर आज त्यहि चलायमान जीवन कोरोनाको कारणले अकल्पनिए तरिकाले एकाएक स्थिर हुन पुगेको छ ।

चीनबाट सुरु भएको यो भाइरस युरोप अमेरिका हुँदै आज संसारभरिका २१६ देशमा फैलिसकेको छ । यसले मानव जीवनलाई ठूलो चुनौती दिइरहको छ । छिटोभन्दा छिटो सङ्क्रमण फैलिने यो घातक सरुवा भाइरसको कारण सारा विश्व नै प्रभावित भएको छ । लाखौं व्यक्तिहरू यो रोगबाट सङ्क्रमित छन् भने लाखौ मानिसहरू मृत्यु हुन पुगेका छन् । यसको सङ्क्रमणबाट बच्नको लागि सामाजिक÷भौतिक दूरी कायम गर्नु उत्तम मानिएको छ । किनकी यसको निदान गर्ने औषधी पत्ता लागेको छैन ।

बरोबर सावुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, रोग प्रतिरोधी क्षमता बढाउने जस्ता खानेकुरा खाने र नियमित व्यायाम गर्नाले जोखमबाट बच्न सकिने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले आज विश्व लगभग लकडाउनमा छ । चीनले कडा लकडाउन र तिब्र परिक्षणको विधि अपनाएर नै कोरोनालाई नियन्त्रण गर्न सफल भएको बताइएको छ ।

करिब चार महिनाको अवधिमै लकडाउनका कारण विश्व अर्थतन्त्र तहस नहस हुन पुगेको छ । उद्योग, कलकारखानाहरू प्रायः बन्दको स्थितिमा छन् । सडकमा गाडीहरू गुड्न छाडेका छन् । कृषि तथा अन्य व्यावसायहरू लगभग बन्द छन् । विश्वको आर्थिक वृद्धिदर ऋणात्मक तर्फ धकेलिन थालेको छ । यसको प्रभाव कति पर्ने हो आउँदा दिनमा देखिने छ । महिनौंसम्म स्थिर भएको अर्थतन्त्रले पक्कै पनि राम्रो सङ्केत गर्दैन । यसबाट मानव जातिले ठूलो क्षति व्यहोर्नु पर्नेछ ।

यो लकडाउनले हामीले गर्दै आएको काममा प्रत्यक्ष असर परेको छ । हामीले राखिएको संस्थागत लक्ष्यहरू पूरा गर्नको लागि व्यवधान सिर्जना हुँदै गएको छ । लक्षित समुदायको काम पूरा गर्न नपाएर परियोजना सकिन्छ कि भन्ने पीरले सताइरहको छ ।

लकडाउनको यो अवस्थामा म काठमाडौंको नैकापमा परिवारको साथमा बसिरहेको छु । लकडाउन यदि हुँदैनथ्यो भने यति बेला हामी फिल्डमा रहेर जोखिम तथा भूमिहीनको बस्ती स्थानान्तरणको काममा सघाइरहेका हुन्थ्यौं । तर एकपछि अर्काे गरी थपिँदै गएको लकडाउनको कारण त्यस्तो हुन सकिरहेको छैन । जे सकिएको छ, घरमै रहेर अलि अलि काम गर्ने कोशिस भइरहेको छ ।

सरकारले लकडाउन बढाएको छ । परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा त्यसो गरिएको देखिँदैन । एकदमै सुस्त गतिमा परिक्षण भएको छ । जसले गर्दा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या यत्ति छ भनेर एकिन गर्न सकिने अवस्था छैन ।

यो समयमा समुदाय तहमा लकडाउनको पूर्ण पालना नभएको हो की भन्ने महशुस भएको छ । कतिपय मानिसहरू भिडभाड गर्ने, गराउने । काम विना पनि सडकमा हिड्ने । मापदण्ड विपरित पसल खोल्ने जस्ता गतिविधिले यो सङ्क्रमण फैलन सक्ने डर पनि उत्तिकै छ । यसमा सबैजना सजग हुन आवश्यक छ ।

कोरोना कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषय लगभग सबैलाई थाहा छ । यो कोरोना तिव्ररुपमा फैलिन सक्ने भाइरस हो भन्ने पनि प्रायः सबैलाई थाहा छ । तर पनि हामीहरू लापरवाही गरिरहेका छौं ।

हामीसँग पर्याप्त अस्पताल, जनशक्ति र सबैका लागि शुलभ उपचारको सुविधा छैन । तसर्थ हामीहरू समयमै सजग बन्नुको अर्को भरपर्दो विकल्प पनि छैन । त्यसैले सचेत रहनुपर्छ ।

कोरोनाले प्रभाव पारेको यो अवस्थामा सम्यमित बनेर सरकारले कोरोना विरुद्ध चलाएको अभियानमा सबै नेपालीले साथ दिनुपर्छ । अनि मात्र हामीहरू कोरोनाबाट बच्न सक्छौं । निकट भविष्यमै कृषि, पर्यटनलगायतका उद्योग, व्यवसायलाई दु्रत गतिमा अगाडी बढाएर देशको अर्थतन्त्रलाई मजबूत बनाउन सक्छौं । पहिले जीवन त्यसपछि मात्र विकास तथा अर्थतन्त्रको कुरा आउछ । त्यसैले यही कुरालाई मनन् गरेर कोरोना विरुद्धको यो महाअभियानमा हामी सबै सरिक बनौं ।

प्रकशित मिति : सोमबार, मे २५, २०२०