एक स्वबन्दीको डायरी

विनोद गौतम

एउटा डर

जगत देउजा सर र मलाई समुदायमा आधारित पहल कार्यक्रमको योजना बैठकको लागि इण्डोनेशियाको जाकार्ता जानु थियो । त्यो बेला कोरोना भाइरसले चीनमा धेरै जनाको ज्यान गइसकेको खबरहरू आइरहेको थियो । कतिपय देशले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो तयारी गरिसकेका थिए । कोरोना कहरकै बीच योजना बैठक सम्पन्न हुने भयो । पश्चिमा देशहरूमा यसको कम प्रभाव भएपनि इटालीमा सङ्क्रमितको सङ्ख्या बढीरहेको थियो । त्यो बेला नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या देखिएको थिएन । मनमा थोरै डर लिएर हामी जाकार्ता उड्यौँ ।

मलेसियाको ट्रान्जिट थियो । मलेसिया पुग्दा चहल पहल बाक्लै थियो । मान्छेहरू हतारमा देखिन्थे । विमान चढ्नु अघि ज्वरो नाप्ने काम हुन्थ्यो । १५ दिन भित्र चीनमा गए नगएको सोधपुछ हुन्थ्यो । हाम्रो बैठक तीन दिनमा सकियो । बैठकमा बस्दा नै डर लाग्थ्यो ।

हामी ७ देशका नागरिक त्यहाँ थियौँ । कसैलाई कोरोना सङ्क्रमण भएको भए सबैलाई सर्ने डर थियो । सेनिटाइजर र मास्कको प्रयोग बाहेक कोरोना भाइरसबाट बच्न हामीले अरु कुनै पूर्व तयारी गरेका थिएनौँ ।

जब २०७६ को फागुन १९ मा जाकार्ताबाट मलेसिया प्रस्थान ग¥यौँ । मलेसियाको विमानस्थल जाँदा जस्तो थिएन । मानिसको चहल पहल कम थियो । नेपाल एयरलाइन्सले आफ्नो मलेसिया उडान रद्द गरिसकेको थियो । जाँदा भन्दा फर्कदा देखिएका मानिस थप सचेत देखिन्थे । जगत सर र म नेपाल प्रस्थान गर्ने गेटको एक छेउमा बस्यौँ ।

करिब तीन घण्टाको बसाई मेरो लागि केहि पीडा र धेरै डरको थियो । नेपालमा कोरोना सङ्क्रमण नदेखिएकाले कतै हामीबाटै कोरोना प्रवेश गर्ने त होइन ? कतै नकारात्मक दृष्टिकोणले पो हेर्ने हुन् की ? यहि डरकाबीच हामी नेपाल आयौँ ।

नेपाल आएपछि रुघा लाग्यो । डरै डरले एक दिन विदा लिएर म घरमै बसेँ । नेपाल आएको १३ दिनपछि सरकारले लामो दुरीको गाडी नचलाउने निर्णय ग¥यो । अत्यावश्यक कामबाहेक अरुलाई बाहिर ननिस्किनु भनेर अनुरोध ग¥यो । लामो दुरीका गाडी बन्द हुने भएपछि काठमाडौँ बाहिरबाट काठमाडौँ बस्नेहरू क्रमशः घरतिर लाग्न थाले । त्यही हुलमा म पनि मिसिएँ ।

मनमा डर अझै हटेकै छैन । कतै मलाई कोरोना भाइरसको सङ्क्रमण देखियो भने ? जाकार्ता, मलेसियाका एयरपोर्टमा भेटिएका मानिस, जहाजका यात्रु, माइक्रो बस चढ्नु अघि भेटिएका मानिसहरू, माइक्रो बसका यात्रुहरू सबैको निगरानी मेरै कारणले हुन्थ्यो । धेरैले मलाई बाहिर जथाभावी हिँडेकोमा गाली गर्थे ।

घरपुगेको पर्सिपल्ट अर्थात २०७६ चैत १० गते नै नेपाल सरकारले घोषणा ग¥यो चैत ११ गते देखि देश पुरै लकडाउन अर्थात बन्दाबन्दी । लकडाउनपछि कोरोनाको त्रास झन् बढ्यो ।

नेपालमा फ्रान्सबाट फर्किएकी एक जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको समाचार लकडाउन घोषणाको भोलिपल्टै सबैतिर फैलियो । अनि सबैले लकडाउन भनेको केहो भन्ने बुझेको अनुभूति हुन थाल्यो । लकडाउन हाम्रा लागि नौलो र पहिलो अभ्यास हो ।

अवसर हो लकडाउन

लकडाउन र कोरोनाका बारेमा नकारात्मक टिप्पणी मात्रै भइरहेका छन् । कार्यालयको काम घरबाट हुन्न भन्ने लागेको मलाई मात्रै पक्कै होइन । लकडाउनमा मैले अनुभव गरेको नयाँ कुरा कार्यालयको काम घरबाट पनि गर्न सकिन्छ । घरको काम र कार्यालयको कामलाई व्यवस्थापन गर्न सकियो भने ठाउँले धेरै ठूलो महत्व राख्दैन भन्ने सिकाई प्राप्त भएको छ । प्रविधिको सही उपयोग पनि जीवनको एउटा महत्वपूर्ण पाटो हो । विभिन्न प्रविधिको सहायताले हामीले साप्ताहिक बैठकलाई निरन्तरता दियौँ । कामको विभाजन गरेर सबैले काम बाड्यौँ । पुरा विश्वले यो एउटा बेग्लै अनुभूति लिएको छ । विश्व नै एक फड्को मारेको छ । होटलमा खर्च गरेर गर्नुपर्ने छलफल घरबाटै सम्पन्न भएका छन् । कार्यक्रम गर्नुपर्ने तयारी, कार्यक्रममा जाँदा बाटाको जाम, होटलमा तिर्ने पैसा, हाजिरी, डायरी, डटपेन यी सबै झन्झटबाट हामी सबै मुक्त भएका छौँ । कोरोना र लकडाउनसँगै हामी एक कदम अघि फड्को मारेका छौँ ।

कृषि क्षेत्रमा समेत केहि सम्भावना देखिएको छ । बाँझो जमिनहरू खनिँदैछन् । वैदेशिक रोजगारमा गएका मानिसहरूलाई क्रमशः ल्याउने तयारी हुँदैछ । सरकारले कृषि क्षेत्रमा अहिलेसम्म कै राम्रो बजेट छुट्याएको छ ।

विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा लगाउन सके बाँझो जमिनहरू उपयोग गर्न सके हामी आत्मनिर्भर हुने थियौँ । भविष्यका पुस्तालाई कृषिमा आकर्षित गर्न सफल हुने थियौँ । यो लकडाउनले दिएको अर्को सिकाई हो खेती बाँझो राखियो भने हामी भोकमरीमा पर्छौँ । आत्मनिर्भर भइयो भने जुनसुकै विपत्तिसँग पनि हामी उभिन सक्छौँ । यी अनुभूति विगतमा भएपनि अहिले केहि कार्य देखिएको छ । विपत्तिलाई अवसरमा बदल्न प्रशस्त ठाउँ हामीले लकडाउनबाट सिकेका छौँ ।

हामी अहिले बन्द कोठामा बसेर पनि संसारको अनुभूति गर्न सक्छौँ । एउटा भाइरसको सङ्क्रमण र यसको असरबाट बच्न घोषणा गरिएको लकडाउन हरेक मानिसले आफैँले आफैँलाई अनुशासनमा राख्ने एक महत्वपूर्ण माध्यम बनेर आएको छ । हामीले भोगिरहेको यो अवस्था र अनुभूति अहिले सामान्य जस्तो भएको छ । तर भावी पुस्तालाई यो कुनै कथा जस्तो लाग्न सक्छ । यो नौलो र बेग्लै अनुभूति र यसले ल्याएका राम्रा नराम्रा कुराहरू इतिहासका पानामा सुरक्षित रहनेछन् । यो महामारी हामी जित्न सक्नेछौँ ।

प्रकशित मिति : बिहिबार, जुन ४, २०२०

CSRC Nepal