लकडाउन अनुभूति : गाउँमा सुरक्षित छौं

शान्ती मुक्तान

नोबल कोरोना भाइरसले अहिले विश्वलाई नै सताई रहेको छ । दुःख दिइरहेको छ । विश्वको विकसित देशहरू चीन, अमेरिका, कोरिया, इटाली जस्ता विभिन्न देशहरूमा यसको कारणले हजारौं मान्छेहरूको मृत्यु भएको भन्ने सुनिरहेका छौँ । विज्ञान र प्रविधिले पर्याप्त स्रोत सम्पन्न भएका यी देशहरू पनि यसरी समस्यामा परेका छन् की यसबाट मुक्ती पाउने बाटो अझै पत्ता लगाउन सकेका छैनन् ।

यस भाइरसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालमा यस भाइरसबाट सङ्क्रमित देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउन गरिएको छ । कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ । नेपालमा झण्डै ६०० मानिसलाई कोरोना सङ्क्रमण देखिइसकेको छ । ८९ जनालाई निको भइसकेको छ भने ३ जनाको मृत्यु भएको छ । यो सङ्क्रमण अझै कति फैलन हो एकीन गर्न सकिने अवस्था छैन । परीक्षण भने नियमित भइरहेको छ ।

विकसित देशहरूमा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन् । अझै पनि यसले रोकिने सङ्केत गरेको देखिँदैन । यसरी लगातार फैलिइरहेको भाइरसले धेरै मानिसहरूलाई प्रभावित पारिसक्यो । औषधी पत्ता लगाई यो भाइरसलाई नियन्त्रण गर्ने प्रयास गरिएको भएपनि हालसम्म वैज्ञानिकहरूले भाइरस निरोधक औषधी पत्ता लागाउन सकेका छैनन् । स्थिती झन भयावह बन्दै गइरहेको प्रतित हुन्छ ।

अन्य देशको तुलनामा नेपाल विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यमा धेरै पछि छ । त्यसैले नेपालले आफैंले कोरोनाको औषधी पत्ता लगाउन सक्ने अवस्था पनि नहुन सक्छ । त्यसैले नेपालीहरू यो रोग फैलिएमा कसरी बाँचिएला बनेर चिन्तामा पर्न थालेका देखिन्छ ।

विश्वका अन्य मुलुकले झै कोरोना सङ्क्रमण थप फैलन नदिन सरकारले लकडाउन गर्दै समय थप्दै गरिरहेको छ । सुरुवातमा हप्ता/हप्ता दिनको लागि तोकिएको भएपनि पछि २ हप्तासम्म एकै पटक लकडाउनको समय अवधि थप्न थालेको सरकारले पछिल्लो पटक थपिएको समय आगामी जेठ २० गते सम्मलाई छ ।

यसरी पटक पटक थपिएको लकडाउनको कारण सहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पनि समस्या परिसक्यो । भूमिहीन, गरिब, सुकुमबासी परिवारमा भोकमरीको समस्या सिर्जना हुँदैछ । ग्रामीण किसानहरू पनि यसको मारमा पर्दैछन् । दैनिक रूपमा ज्यालामजदूरी गरी खानुपर्ने मानिसहरू अझ बढी मारमा पर्दै गएका छन् ।

विभिन्न कामको सिलसिलामा सहर बजारतर्फ बसोबास गर्दै आएका मानिसहरू गाउँघर फर्किएका छन् । कतिपय फर्कने क्रममा छन् । तर, यसरी सङ्क्रमण बढ्दै गएको हुँदा कोरोना सङ्क्रमण पो फैलने हो की भन्ने चिन्ता पनि बढ्दैछ ।

लकडाउन अघिको दैनिकी र पछिको दैनिकीमा फरक अनुभव हुँदैछ । लकडाउन अघि बिहान उठ्यो चिया खाजा खाएर कार्यालय गयो दिनभरि कार्यालयको काममा समय वित्दथ्यो । कहिले काहिँ फिल्ड पनि हिड्ने गरिएको थियो तर, अहिले २ महिना भयो घरमै । घरमै समय वितिरहेको छ । कार्यालयमा काम गर्ने बानी परेको हुँदा घरमा बसेर समय कटाउन पनि समस्या नै हुने रहेछ । घरको काम, खेतीपातीको काम पनि विर्सन थालिएको रहेछ ।

अहिले गाउँघरमा पनि खेतीपातीको समय भएको हुँदा केही समय बुबा ममिसँगै खेतीपातीको काममा पनि लागिरहेको छु । घरभान्सामा सघाउने काम पनि गर्दैछु । घरमा बिहान बेलुका खाना खाजा बनाउने, कागती, कफी, इपिलको नर्सरी राख्ने, मल बोक्ने, मकै रोप्ने, करेसाबारीमा प्याज, लसुन गोड्ने, खुर्सानी लगाउने, गोड्ने, पानी लगाउने, घाँस काट्ने जस्ता कार्यहरू यो अवधिमा गरिएको छ । घरवरिपरी हरियाली विस्तारै बढ्दैछ । अव केही समयपछि धान खेती सुरु हुँदैछ ।

साथै समय मिलाएर भूमि अधिकार बुलेटिनहरू पनि खोजी पढीरहेको छु । यसले पनि भूमि अधिकार अभियानबारे धेरै ज्ञान वृद्धि गर्न मद्दत गरेको छ ।

कोरोना सङ्क्रमित सङ्ख्या दिन प्रतिदिन बढेको सुन्दा मनमा धेरै चिन्ता बढेको छ । यो कतै यतै गाउँघरतिर पो आउँछ की ? यो कहिले निको होला ? कसरी र कहिलेसम्म औषधी बनिसक्ला ? यस्तै चिन्ता थपिँदै गएको छ । तर, हामी लकडाउनको पालना गरी सचेत भएर बसेका छौं ।

प्रकशित मिति : सोमबार, मे २५, २०२०

CSRC New Strategy Launched