लकडाउन र खेतीपातीको काम

सुमित्रा थारु

काठमाडौंमा कोरोना भाइरस माहामारीको धेरै नै चर्चा चलिरहेको थियो । आफू काम गर्ने कार्यालय पुग्न पनि दैनिक त्रास बढ्दै गइरहेका थियो । कार्यकारी निर्देशकको सल्लाह आयो, अब लकडाउन हुन्छ टाढाका कर्मचारीहरू अलि समयको लागि घरतिर जाँदा राम्रो हुन्छ होला । काठमाडौं लकडाउन सुरु हुने हल्ला त थियो तर कहिलेदेखि कति दिनको लागि हुने भन्ने निश्चित भइसकेको थिएन । कोठामा बसेर के गर्ने बरु घर गएपछि खेतिपातीको काममा सहयोग पुग्छ र आफ्नो परिवारसँग बस्न पाइन्छ भन्ने लागिरहेको थियो । तर फर्किनलाई गाडी नपाएर समस्यामा थिएँ । नेपालगञ्जबाट चैत्र ९ गते दिदीले फोन गरी भन्नुभयो, गाडी आउँदैछ, अरु मानिसहरू लिन । त्यसैमा आउनु । आपतको बेला घर जान पाउने भयो भनेर खुसी भएँ ।

चैत्र १० गते दिउसोको २ बजे काठमाडौंबाट हिडिँयो । गाडी पोखरा हुँदै जाने भयो । त्यहाँबाट पनि एक जना नानीलाई लिएर जानुपर्ने रहेछ । पोखरा पुग्दा साँझको ६ बजेको थियो । त्यतीनै बेला सरिता लुईटेल म्याडमले फोन गर्नु भयो, उहाँले भोली अर्थात चैत्र ११ बाट लकडाउन हुने सूचना आएको जानकारी गराउनुभयो । हामी त्यहीँ पोखरामा बसेर भोलीपल्ट जाने योजनामा थियौं ।

अघिल्लो दिन रातभर गाडी चलाएर काठमाडौं आएको भएर ड्राईभरले भोलीपल्ट जाने भन्नुभयो । पछि लकडाउनको व्यापक हल्ला चलेपछि भने ड्राइभर राती नै हिड्न तयार हुनु भयो । रातीको ९ बजे पोखराबाट गाडी नेपालगञ्जतर्फ गुड्यो ।

ठाउँठाउँमा रोक्दै आराम गराउदै विहान ७ बजे दाङको अमिलिया पुगियो । अमिलिया पुग्दा भर्खर प्रहरी प्रशासनले गाडी रोक्दै थियो र हाम्रो अगाडी २ वटा गाडी रोकिइ सकेकोले तेस्रोमा लाइनमा परियो । ठिक त्यही बेला कमला गौतम म्याडमले फोन गर्नुभयो, उहाँले कहाँ पुग्नु भयो ? के कस्तो छ भनेर चिन्ता र चासो राख्नुभयो ।

अमिलियामा ९ बजेसम्म बस्नु परेको थियो । त्यहाँबाट छुटकारा त पाइयो फेरि कुसुम भन्ने ठाउँमा रोक्यो । यसरी बाटोमा विभिन्न ठाउँमा रोकीई बस्नु परेकाले घर आइपुग्दा सवा ११ जति बजेको थियो ।

गीता म्याडमले फोन गर्नुभयो, सरिता म्याडमले फोन गर्नुभयो सबैलाई राम्रोसँग समयमा नै पुगेको जानकारी गराएँ । उहाँहरूले धेरै चिन्ता व्यक्त गर्नुभयो, घर राम्रोसँग पुग्नु भयो की भएन भनेर । यसरी सम्झँदा धेरै खुसी लाग्यो ।

जव घरमा पुँगे, परिवारका सदस्यहरूले मलाई कोरोना सङ्क्रमण पो छ की भन्ने नजर हेरेको जस्तो फिल भयो । म काठमाडौंबाट घर गएको र काठमाडौंमा कोरोना सङ्क्रमित भेटिएको थियो । र घरमा पुगेपछि भाइले भन्यो, बुढो हजुरबुवा हुनुहुन्छ, सानो छोरा छ अलि सुरक्षित भएर अलग बस्नु । २ दिनसम्म म अलग भएरै बसेँ । किनकी परिवारका सदस्यले भनेको पनि मान्नु नै पथ्र्याे । कतै मलाई पनि सङ्क्रमण पो छ की भन्ने डर पनि लाग्यो । यसरी एक्लै बस्नुपर्दा नमजा पनि लाग्न थालिसकेको थियो । बरु काठमाडौंमै बस्नुपर्ने रहेछ, व्यर्थैमा घर आइएछ जस्तो पनि लाग्न थाल्यो ।

घरमा आमा र काकी खेतीपातीको काममा जाने गर्नु हुन्थ्यो । म घरमै बस्नुपर्ने । मलाई पीडा महशुस भयो । खेतमा मुसुरो, गहुँ पाकेको छ, मकै गोड्ने बेला भएको छ । बसेर त्यो हेर्न सकिन र घरका सबैलाई आफु कोरोनाबाट सुरक्षित रहेको कुरा सुनाएँ । उहाँहरुको पनि शंका हटेछ, क्यारे त्यसपछि तेस्रो दिनदेखि खेतीपातीको काममा जान थालेँ ।

मुसुरो काट्यौँ, घरमा ल्यायौँ दाँयौ । मकै ५ दिन लगाएर गोड्र्याैँ । फेरि सुरु भयो गहुँ काट्ने त्यो पनि काटी, बोकी, दाँयौँ । बल्ल बाली भित्र्याउने काम हल्का भयो । त्यसपछि लसुन खन्ने थियो । अलि दिन पछि लसुन खन्यौँ ।

फेरि अलि दिनमै वर्षा सुरु हुने भएकोले खेतबारीमा मल फाल्नुपर्ने भयो । ८ दिन लगाएर बारीमा र खेतमा गाई भैसीको मल हालियो । यति सबै काम सक्दासम्म फेरि तेस्रो पटक लकडाउन थपेपछि अघिल्लो वर्ष बाढीले भत्काएको भान्सा घर, भान्साको लागि टालटुल पारेर काम चलाउ बनाएकोलाई नयाँ बनाउने योजना बनाएँ । भाईसँग सल्लाह गरेँ र गाउँका केही मानिसको सहयोग लिएर घर बनाउन थाल्यौँ । नयाँ घर तयार भयो ।

घर लिप्ने काम फुपुको छोरी, दिदीको छोरीहरूको सहयोगमा ४ दिन लगाएर सक्यौं । १ दिन जङ्गलमा पात टिप्न र दाउरा ल्याउने भनी गयौँ । सँगै गएकी एक जना छोरीलाई खुट्टामा विच्छीले टोक्यो । विच्छीको विषले नानी बेहोस् भई । हामी धेरै डरायौं । केही वरसम्म बाटोमा बोकेर ल्याएर भाईलाई खबर गरी मोटरसाइकलमा राखी मेडिकल लग्यौं । उपचार गरेपछि मात्र नानीको होस् आयो । त्यहाँबाट घर लग्यौं । घरमा लगेपछि फेरी पनि विषको प्रभाव रोकिएन छ । फैलियो । सन्चो भएन । पुनः मेडिकल लग्यौं, मेडिकलवालाले यहाँ हुँदैन अन्तै लैजानुहोस् भन्ने सल्लाह दिए । रात परिसकेको थियो, राती फेरि घर ल्यायौँ र गाउँमा गएर एक जना बैद्य बाजेलाई बोलाएर ल्यायौँ । उहाँले विच्छीले टोकेको घाउबाट मुखले चुसेर सबै विष निकालिदिनु भयो र जडिबुटीको औषधी दिनुभयो । त्यसपछि बल्ल सन्चो हुँदै गयो ।

गाउँघरमा खेतबारीको काम गर्नेहरूको कहिले नि काम सकिँदैन । केही न केही काम भइरहन्छ । घर पुरा तयार भएपछि प्याज खन्ने काम बाँकी थियो । प्याज पनि खनी सकियो ।

यस बीचमा पिडाँलु लगायौँ, बेसार लगायौँ । चैते मकै अहिले खाने बेला हुन लाग्यो र वर्षे मकै फेरी छर्ने बेला भयो । भाई र म मिलेर बारी जोतेर मकै छर्ने काम ग¥यौं । अरुबेला बन्द भएको भए केहि काम हुने थिएन तर बालीनाली भित्र्याउने बेला परेकोले खाली बस्न परेन ।

अरुबेला छोराछोरी सबै घर बाहिर, बुवा आमा, काका काकीले मात्र खेतबारीको काम गर्नुपथ्र्याे भने यसपाली कोरोना भाइरसको कारण भएको बन्दले हामीलाई पनि खेतबारीमा काम गर्न अवसर जुराइदियो । ८ वर्षपछि फेरि पनि खेतबारीको काममा समय दिन पाएर मनमा आनन्द लागिरहेको छ भने मनमा त्रास पनि छ नेपालगञ्ज भन्दा ४६ किलोमिटर टाढा हाम्रो घर भए पनि त्यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ ।
सङ्क्रमण यता घर गाउँमा पनि आउँछ की भन्ने चिन्ता छ । यो लकडाउन कहिलेसम्म हुने हो निश्चित छैन । कार्यालयको कामको चिन्ता पनि उत्तिकै छ । सहज भइदिए काममा जानु हुन्थ्यो भन्ने मनमा आइरहन्छ । तर, वातावरण सहज नभई काममा फर्कन नपाइने होला ।

अहिले वर्षाको समय हो । अब खेत जोत्ने काम छ । खेत जोत्नलाई टेलर पावरमा हाल्ने तेल छैन । छर्नलाई धानको बीउ पाएको छैन । बालीमा हाल्ने मल पाइएको छैन । घरमा राखेको बीउहरू खासै राम्रो नउम्रने भएकोले उन्नत जातका बीउहरू किन्नै पर्ने हुन्छ । बन्दाबन्दी यस्तै हो भने कृषि क्षेत्रमा ठूलो असर पर्न सक्छ ।

प्रकशित मिति : मंगलबार, मे १२, २०२०