लकडाउनमा विगत सम्झदैं

सरीता लुइँटेल

कोभिड–१९ को सङ्क्रमणबाट बच्नको लागि सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको छ । अहिले हामी घर घरमा नै छौं। यसरी बसिरहँदा पनि दिन चर्यामा खासै धेरै फरक छैन । कार्यालय जाँदा बिहानको घर धन्दा, खाजा, सार्वजनिक रुटका गाडी चढ्ने, ओर्लने, जाममा परी फस्ने र सिटमा बस्ने अवसर पाए कुनै पुस्तक, लेख अध्ययनको काम गरिन्थ्यो भने लकडाउन भएदेखि आआफ्नै घरबाट नै काम गर्ने नियम बनेपछि नौ बजे कार्यालयमा हाजिर हुने काम मात्र गर्न सकिएको छैन । अरु काम हामी महिलाका नियमित दिनचर्या नै हुन् ।

मैले आफैले अनुभव गरेका केहि कठिन परिस्थितिहरू जसले घर परिवार र आफ्नौ वरिपरिको दैनिक क्रियाकलापलाई उथल पुथल पारेका थिए । ती हुन् २०४५ र २०७२ सालको भूकम्प । २०४६ सालको जन आन्दोलन । २०५२ देखि २०६२ सम्म चलेको जनयुद्ध । र अहिलेको कोरोना भाइरसको माहामारी । मलाई अनुभुती भएसम्म कोरोना बाहेकका यी घटनाले पनि तत्कालिन समयमा दैनिक जीवनमा पारिरहेको असर सोचेको भन्दा जटिल नै थियो । आज पनि कतिपय मानिसहरूलाई त्यसको असर परिरहेकै छ ।

राजनीतिक परिवर्तनका लागि भएका भनिएका आन्दोलनले गर्दा कति नेपाली आमाहरूको कोख खाली भए, कतिका बाबु र आमासँग बिछोड भयो । मन रोयो र आज पनि राइरहेकै छ । पाकेको भात, पाकेको बाली, घर, परिवार, ओछ्यान केहि आफ्नो भएन त्यो बेला । त्यतिबेला राजनीतिका नाममा लुटपाट, काटमार र अधिकार हनन्का घटनाहरू धेरै भएको सुन्यौं । त्यो बेला यो कोरोना कहाँ थियो होला ? यसरी सामाजिक दुरी राख्न पाएको भए मेरा गाउँका ढकाल सरले अकालमै ज्यान गुमाउनुपर्ने थिएन होला । जनयुद्धकै असरको कारण हाम्रो परिवार पनि पहाड छोडी तराई झर्नु पर्ने थिएन होला । उतिबेला १०० मुरी धान फल्ने खेत र सिजन अनुसारका फलफुल तरकारी फल्ने पहाडको स्वच्छ हावा पानी भएको गाउँ ठाउँ चटक्कै छोडेर हिड्नु परेको सम्झना ताजै छ । मेरो परिवारलाई पनि त्यो बेलाको प्रभाव परेको थियो । अहिले एउटा भाई विदेशमा दुःख भोगीरहेको छ ।

भूकम्पको बेला पनि सहर पसेका धेरै दाजुभाई दिदी बहिनीहरू आफ्नो परिवारलाई जोगाउन र आफू जोगिन सहरबाट गाउँ फर्किएका थिए । गाउँमा जीवन धान्न पर्याप्त आम्दानी नभएपछि केही समयपछि फरी उनीहरू कोहि विदेश गए र कोहि देश भित्रकै मुख्य सहरहरूमा बसाईं सरे । आफूले गर्न सक्ने पेशा गरी बसे । आज वैदेशिक रोजगारमा गएर पैसा पठाइरहेका दाजुभाई–दिदीबहिनीहरू फर्केर आफ्नो देशमा तत्काल आउन पनि नपाउने, त्यही बसिरहँदा तलव पनि नआउने र कारोना रोगबाट कतिबेर सङ्क्रमित भइने हो भन्ने डरले भित्रभित्रै चिन्तित भएको खबर आइरहेका छन् ।

तर गाउँघरतिर जग्गा, जमिन र घर हुनेहरूलाई अहिलेको माहामारीमा पनि केही राहत मिलेको जस्तो देख्दा समय समयमा आइपर्ने विपदबाट जोगिन र त्यसपछिको दिन चर्यालाई सरल बनाउन ठूला सहर, ठूला कंक्रिटले बनेका घर, सहर बजारभन्दा गाउँ घर नै राम्रो र सुरक्षित हुने रहेछ भन्ने लागेको छ ।

जल जङ्गल र जमिनकै महत्व अन्य कुरा भन्दा बढी हुन्छ भनेर पनि दावी गर्न सकिन्छ । यी ३ उत्पादनका साधन भएनन् भने कहाँबाट आउछ जडिबुटी, केबाट कसरी बन्छ औषधी ? कहाँ फल्छ अन्नबाली, कहाँबाट आउछ पानी ? यहीँ जमिनमा कृषकले खेतिपाति गरेर टनका टन मुरीका मुरी अन्न उत्पादन गरेका छन्, बजारमा पठाउन योग्य बनाएका छन् र ती ब्यापार गर्ने मानिसहरूले बेच्न पाएका छन् । त्यसैले त आज यतिका दिनसम्म पनि बजारमा खाद्यान सामग्रीको उति अभाव झेल्नु परेको छैन । किनेर खान पाइएकै छ ।

आम्दानीको भरपर्दो स्रोत नहुने, ज्यालादारी र मजदूरी गर्ने तथा हुँदा खाने वर्गले भने कोरोना लकडाउनका कारण सिर्जित परिस्थीतिको सामना गर्न पीडा भोगिरहेका छन् । खाद्यान्नको मात्रै कुरा होइन, यो समयमा अन्य थुप्रै विभेदका घटनाहरू पनि प्रशस्तै देखिएका छन् ।

गाउँमा होस् वा सहरमा उचित ज्याला नपाउने, पाएमा पनि समान कामको असमान ज्याला नपाउने, पुरुषले बढी पाउने र महिलाले कम पाउने । खेतिपातीको कामलाई कम महत्वको रूपमा लिने । पढे लेखेको मान्छेले टेबलमा खुट्टा हल्लाएर नै खानुपर्ने । हसियाँ, कुटो कोदालोको काम गर्न नहुने । भान्साको काम महिलाले नै गनुपर्ने । कुनै दिन पुरुषले गरे भने त्यो घरका पुरुषहरूलाई महिलाले हेपेको रूपमा हेर्ने । पुरुषहरू आफ्ना आमा, बुबा, हजुरआमा, दिदीबहिनीहरूलाई हर काममा समानताको कुरालाई बुझाउन नचाहने कुराहरू पनि यो समयमा झनै धेर नै देखियो ।

लकडाउन कति लामो भयो भन्ने कुरा, यो सुरु भएकै अवस्थामा बारीमा रोपेका मकै आज गोड्नको लागि तयार भएका छन् । लसुन खेती उठाउने र तोरी काट्ने काम यहि समयमा सकिएको छ । तोरी खेती गरिएको ठाउँमा बाझो जमिन खन्ने, बोडी, सीमी, र फर्सी रोप्ने काम गरिएको छ ।

अब धानको बीउको लागि ब्याड तयार गर्ने र मकै गोड्ने योजना छ । आफ्नै सानो जमिन छ त्यसैमा रोपिएको मटरकाकोसा, बेथु, रायो र तोरी हुर्किएकाले बजारबाट साग किन्ने क्रम घटेको छ । अहिलेसम्म्मको अवस्था हेर्दा हामी धेरै भाग्यमानी रहेछौँ भन्ने पनि अनुभुती भएको छ ।

विश्वका शक्तिशाली भनिएका देशहरूमा कोरोना माहामारीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर कुन लास कसको हो भनेर छुट्याउन नसकिरहेको बेला हामीले आफ्नो परिवार र नातागोताको हाल खबर बुझ्दै गर्न मिल्ने र सम्भव हुनसक्ने कार्यालयका कामहरू गर्ने, भर्चुअल मिटिङको माध्यमबाट दोहोर सम्वाद छलफललाई अगाडि बढाउने र साप्ताहिक योजना बनाएर कामहरू गरिरहेका छौँ ।

नियमित गर्नुपर्ने भान्साका काम गरिएकै छ । घरमा आमालाई रुघा र खोकीले सताइरहेको र बुबाको दमको उपचार चलिरहेको भए पनि लकडाउनका कारण नियमित चेकजाँचमा असर पर्ने हो कि भन्ने चिन्ता लागि रहन्छ । आमाको कम्मर र खुट्टा र घुडा दुख्ने समस्या लामो समयदेखि छ । भनेको बेलामा उठेर हिड्डुल गर्न सक्नुहुन्न । लकडाउन हुनु भन्दा २ दिन अगाडि निजामती हस्पिटलमा जचाँएर औषधी नियमित खुवाउदै निको हुँदै थियो । यसैबेला आयो कोभिड– १९, यसको सङ्क्रमणबाट बच्ने र यसका लक्षणहरू के के हुन् ? कस्ता मानिसहरूलाई छिट्टै आक्रमण गर्छ भन्ने खबरहरू सञ्चार माध्यमबाट र छरछिमेकबाट पनि धेरै सुनिन्थ्यो ।

जे सुनिथ्यो त्यहि लक्षणको बिरामी घरमा आफैले स्याहार गनुपर्ने । आफू पनि नियमित ब्लड प्रेसर र नसा सम्बन्धी ओषधी सेवन गनुपर्ने भएकोले कुनै पनि रोगको सङ्क्रमणको सम्भावित जोखिमबाट कसरी जोगिने भन्ने कुरा दिमागमा सधैं खेलीरहन्छ । पछिल्लो समय परिवारमा धेरै जना विरामीका लागि औषधीको ब्यवस्थापन, ट्वाइलेट, हातमुख धुने बेसिन, बाथरुम, भान्सामा सरसफाई र सर्तकता जस्ता काममा धेरै समय बितिरहेको छ ।

प्रकशित मिति : सोमबार, मे ११, २०२०