लकडाउन अनुभूती : कोरोना र कृषिमा परेको प्रभाव

माधवप्रसाद ढकाल

नेपाल कृषि प्रधान देश हो । यहाँका ६५ प्रतिशतभन्दा बढी मानिस कृषि पेशा गर्छन् । नेपालबाट पहिला खाद्यान्न निर्यात हुन्थ्यो । अहिले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । कषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषि पेशालाई मर्यादित र सम्मानित नगरिँदा समस्याहरु सिर्जना हुँदै गएका छन् । किसान सबैतिरबाट अपहेलित हुनु परेको महशुस गर्छन् ।

किसान, जसले संसारलाई आवश्यकपर्ने वस्तु उत्पादन गर्छ । उसको कुरा कसैले सुन्दैन । थिचो मिचो अन्याय उसैले सहनु परिरहेको छ । दुःख कष्ट खेपिरहनु परिरहेको छ । चक्रवर्ती ऋणको मारमा किसाननै छन् ।

माटोसँग खेल्नुपर्ने सधैं धुस्रेफुस्रे ज्यान । शासकसँग डराइरहनु पर्ने स्थिति । यस्तै कारणले होला गाउँघरको खेतीपाती बाँझो राखेर युवाहरू विदेशिएका । उत्पादनमा लाग्नुपर्ने युवा जनशक्ति रोजगारीको शिलशिलामा बाहिरिनु कृषि उत्पादन घट्नुसँग जोडिएको छ । खेतीपातीका लागि पर्याप्त जमिनको अभाव र सरकारले कृषिलाई प्राथामिकतामा नराखेको कारण कृषिमा मानिसहरू आकर्षित हुन छाडेका हुन ।

नेपालमा २०७६ चैत्र ११ गतेदेखि लकडाउन लागु भएको छ । कोरोनाबाट बच्ने उत्तम उपाय भनेकै एकान्तबासमा बस्ने र सरकारले जारी गरेको निर्देशन मान्ने हो ।

यो महामारीमा लकडाउनले सबैलाई झस्काएको छ । मेरो जीवनमा यसरी लकडाउनमा बसेको पहिलो अनुभव हो । लकडाउन र अन्य महामारीलाई हेर्दा पहिलो स्वाथ्यकर्मी, दोस्रो सुरक्षाकर्मी र तेस्रो कुरा किसानको भूमिका महत्वपूर्ण हुँदो रहेछ ।

डेढ महिनादेखि मानिसहरूले पर्याप्त काम गर्न पाएका छैनन् । अधिकांश मानिसले श्रम नगरी बसिबसि खानुपर्ने अवस्था आयो । यस सङ्कटको घडीमा सहरतिर फाटफुट वितरण भएको राहतले दैनिक खान अप्ठ्यारो परेकालाई केहि सजिलो भयो । लकडाउनको सूचना थाहा पाएपछि धेरै मानिसहरू सहरबाट गाउँघरतिर गए । प्रायः जेष्ठ नागरिकहरू मात्र भेटिने गाउँघरमा अहिले युवाहरूको पनि उपस्थिति छ । अर्मपर्म गरी लगाएको बाली भित्र्याउने, नयाँ बाली लगाउने काममा सबै जुटेका छन् । यस पटक खेती लगाउन र उठाउन कसैले अल्छि गरेका छैनन् । माटो छुन लाज मान्नेहरूले पनि माटो छोएको देखियो । पहिला विकल्पको रूपमा सोचिएको कृषि पेशाको विकल्प केहि भएन ।

गाउँ बसेर ताज खानेकुरा खाँदा, बाली लगाउने र उठाउने काम गर्दा रमाइलोसँग समय वितिरहेको छ । यो परिस्थितिमा सबैको ध्यान कृषिमा गएको छ । सबैले कृषिलाई महत्वका साथ लिइरहेका छन् । उद्योग कलकारखान ठप्प भए पनि खेतीपातीमा कुनै असर परेन । खेतीपातीको काम जारि छ ।

राम्रो कुरा त सबै जना मिलेर अर्मपर्म गरेर खेतीपातीको काम चल्दैछ । अर्मपर्म गरेर काम चल्यो । ज्याला र मजदूरी गर्नेको काम हरायो । बेरोजगार भए । गाउँघरमा ज्याला गरेर खानेहरूले ज्याला गर्न पाएनन् ।

जसले खेतीपाती गर्छ अझै पनि उसको नाममा जग्गा जमिन छैन । वर्षाैदेखि अरुको जमिन कमाउदै आएका तर कानुनी रूपमा कुनै प्रमाण नभएका बेदर्तावाल मोहीहरूलाई जग्गा जमिन छोड्न धम्कि आउन थालेको छ । जमिन कामाइरेका मोहीहरूको जमिन खोसिने डर छ ।

कोरोना महामारीको सन्त्रासका कारण मुलुकभर लकडाउन जारी छ । मल र बीउको अभाव बढ्दै गएको छ । स्थानीय जातको बीउ हाइव्रिड बीउले गर्दा लोप भएको छ । समयमै बाली लगाउने बीउ र मल नपाउँदा र विभिन्न पेशा र रोजगारमा आबद्द भएकाहरूको रोजगारी खोसिँदा निकट भविष्यमा खाद्य सङ्कट बढेर जाने देखिएको छ ।

लकडाउन भएपछि हेरक सामग्रीको मुल्य वृद्धि भएको छ । आधिकारीक रूपमा सामग्रीको भाउ नबढाए पनि ब्यापारीहरूले बजारमा सामानको कृत्रिम अभाव सिर्जनागरी बढी पैसा दिएमा मात्र सामग्री दिने गरेका छन् । उद्यारोमा सामग्री पाइरहेकोमा लकडाउनपछि दिन छाडेका छन् । कोरोनाको महामारीको त्रासका कारण मानिसहरूले आफ्नो सुरक्षाको लागि पैसा सञ्चित गरेर राखेका छन् । अप्ठ्यारो पर्दा सापटीसमेत पाउन कठिन छ ।

दुध उत्पादक किसानहरुले दैनिक दाना, पानी र घाँसमा लगानी गरिरहेका छन् तर उत्पादन भएको दुध बेच्न पाएका छैनन् । किसानले आफ्नो खेत बारीमा लगाएको तरकारी बिक्री गर्न नपाएर खेतमा नै विग्रेर गएको छ । बाली लगाउने समयमा बजार बन्द छ । समयमा मल र बीउ नपाउँदा उत्पादन घटेर खाद्य सङ्कट पैदा हुन सक्ने स्थिती छ ।

साना किसान, भूमिहीन र दैनिक ज्याला मजदूरी गर्नेहरूको काम ठप्प भएको छ । परिवारको दैनिक गुजारा चलाउन नै धौधौ परेको छ । समाजिक सञ्जालमा दैनिक जसो प्रशारण हुने भ्रमात्मक समाचार, र लामो समयसम्म घरभित्र बस्नुपर्ने बाध्यताले मानिसहरूमा मानसिक समस्या उत्पन्न हुने खतरा पनि बढेको छ ।

कोरोनाले कृषिमा सिकाएको केहि पाठ

सामाजिक दूरी कायम राखेर काम गर्ने । बढी जमघट नहुने । अनिवार्य माक्स लगाउने । टाढैबाट नमस्कार गर्ने । पोषिलो खानेकुरा खाने । नियमित श्रम गर्नुपर्छ ।

उत्पादित वस्तुको उचित भण्डारका लागि स्थान निर्माण गर्नुपर्छ । जुन सङ्कटको घडिमा प्रयोग गर्न सकियोस् । वा पछि उचित मुल्यमा बिक्री गर्न सकियोस् । अहिले किसानले भण्डारण गर्ने ठाउँको अभाव, उत्पादित सामग्राी विग्रने र मुसाले, घुन पुतली आदिले खाने समस्याले गर्दा कमै मूल्यमा भए पनि बिक्री गर्ने र किनेर खाने चलन बढ्दै गएको छ । जसको कारण सङ्कटको घडिमा नपाइने र बढी मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता किसानमा छ ।

बाली लगाउने बेलामा मल र बीउको अभाव हामीले झेल्दै आएको समस्या हो । त्यसैले स्थानीय जातको बीउ उत्पादन र संरक्षणमा जोड दिनुपर्ने देखिन्छ । नत्र कुनै दिन बीउ नपाएर जमिन बाँझो हुने अवस्था आउन सक्छ । मानिसहरू रोगले भन्दा पनि भोकले पहिला मर्ने डर हुँदो रहेछ ।

अब संघ, प्रदेश र स्थानीय सरकारले कषि पेशालाई हेला नगरी यो पेशामा लागेकालाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ । कृषि बीमाको ब्यवस्था गर्नुपर्छ । किसानले वर्ष भरी दुःख गरेर बाली लगाउँछन् र अन्न फलाउँछन् । कहिले बीउ उम्रदैन । कहिले नक्कली पर्छ । कहिले झरी, बाढी पहिरो र असिनापानी र हावा हुरीले सबै सखाप बनाउँछ ।

दुःख गरेर पनि प्रतिफल लिने बेलामा उपलब्धी सुखद् नभएपछि सकेसम्म अरु नै पेशा गर्न मन लाग्ने किसान बताउँछन् । यसैले किसानलाई ढुक्क भएर खेती गर्नको लागि बीमाको व्यवस्था गर्नुपर्छ । कृषिमा छुट र अनुदानको ब्यवस्था गर्नुपर्ने हुन्छ । जसले कृषि कर्म गर्छ उसको अभिलेख स्थानीय सरकारमा राखेर बीउ मलमा ५० % अनुदान वा छुटको ब्यवस्थापन गर्नुपर्छ । अहिले जुन बेलमा बीउ र मल चाहियो त्यतिवेला झन् महंगो हुने गरेको छ । बाह्रै महिना सिँचाइको लागि स्थानीय तहले बजेट ब्यवस्थापन गरी यसलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । स्थानीय तहलाई आवश्यक पर्ने खाद्यान्न कति हो ? त्यति खाद्य वस्तु स्थानीय तहमा भण्डारण गरिराख्ने । बढी हुने मात्र पालिका बाहिर बेच्नुपर्छ । सिजनमा ब्यापारीले खाद्य वस्तु सस्तोमा खरिद गरेर लाने र पछि महंगोमा पठाउने गरेको छ । हरेक गाउँमा अन्न भण्डारण गरी राख्ने भण्डारण बनाउनुपर्छ । यसका लागि स्थानीय सरकारले किसानलाई अनुदान दिनुपर्छ । आवश्यक परे किसानले उत्पादन गरेको अन्न पालिकाले खरिद, बिक्री गर्ने जिम्मेवारी लिनुपर्छ ।

प्रकशित मिति : बिहिबार, मे १४, २०२०