घरमै वितेको समय र लकडाउनले बढाएको चिन्ता

सोममाया तामाङ

अहिले विश्वलाई नोबल कोरोना भाइरसले सताई रहेको छ । नेपालमा पनि यो महामारी देखिन थालेको २ महिना पुग्नै लाग्यो । अहिलेसम्म २४६ जना भन्दा बढी नेपालीहरू सङ्क्रमित भइसकेका छन् । विकसित देशहरूमा त ठूलो सङ्ख्यामा मानिसहरूलाई यो रोग लागिसक्यो । धेरैको अकालमा मृत्यु पनि भइसक्यो ।

अन्य देशको तुलनामा नेपालमा सङ्क्रमितको सङ्ख्या कमै देखिएको छ । खुसीको कुरा अहिलेसम्म नेपालमा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । ३५ जना त निको भएर घर फर्किसकेका छन् ।

तर सबै नेपालीमा भने कोरोनाको त्रास कायम छदैछ । सङ्क्रमित सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमण थप फैलन नदिन र रोकथामको लागि भन्दै २०७६ चैत्र ११ देखि लकडाउन भएको थियो जुन आगामी जेठ ५ गतेसम्म जारी छ ।

विकसित देशको तुलनामा हाम्रो देशको आर्थिक, शैक्षिक, प्राविधिक तथा स्वास्थ्य सेवा र सुविधा कमजोर छ । विकसित देशमा त यस्तो दुर्दशा ल्याएको कोरोनाले नेपालमा के हालत गर्ने हो भन्ने चिन्ता र चासो बढीरहेकै छ । विश्वका वैज्ञानिकहरूले हालसम्म कोरोना भाइरसको उपचार पद्दती पत्ता लगाउन सकिरहेका छैनन् ।

कोरोनो भाइरस फैलिन नदिन हामी आफैं सचेत हुन जरुरी छ । नेपाल सरकारको नीति नियम पालना गर्ने, स्वास्थ्यकर्मीहरूको सल्लाह सुझाव मान्ने, आधाकारिक सूचना र सामग्रीहरूको उपयोग गर्ने, आफू र परिवारलाई सचेत र सजग गराउनाले मात्र यो भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने छ । हामी अहिले लकडाउनको समयमा घरमा बसी त्यही गरिरहेका छौँ ।

सरकारले लकडाउन एकपछि अर्को गर्दै थपिरहेकै छ । अझै कति लम्बिने हो एकिन छैन । हुन त केहि दिनदेखि लकडाउन खुकुलो भएको लाग्न थालेको छ । केही सवारी साधानहरू चलिरहेको देखिएको छ । सवारी साधान र मान्छेको चाप बढ्यो भने सङ्क्रमण फैलने डर पनि उत्तिकै छ ।

लकडाउन अघिको दैनिकी र पछिको दैनिकीमा फरक अनुभव हुँदैछ । लकडाउन अघि बिहान उठ्यो चिया खाजा खाएर अफिस वा फिल्डको कामको लागि जानु पथ्र्याे । धेरै समय त सदरमुकाम धुन्चेतिर वा फिल्डतिर हुनुपथ्र्याे । अफिस हुँदा पनि दिनभरि काममै व्यस्त भइन्थ्यो । महिनामा अधिकाशं समय बाहिरनै हुन्थ्यो ।

फिल्डमा काम भएको बेलामा हप्ता दिनमा १ दिन पनि घरमा बस्न समय मिल्दैनथ्यो । अफिस भएपनि बिहानै घरबाट हिड्यो, राती घर पुग्यो । गाउँघरका मान्छेसँग, आफन्तसँग कुरा गर्ने, भेट्ने समय नमिलेको पनि धेरै भएको थियो । लकडाउनले अहिले भने घरमै बस्नुपर्ने बनाइदिएको छ । धेरै समयपछि दैनिकी फेरिएको छ । करिव २ महिनादेखि घरवरिपरीकै वातावरणमा सिमित हुनु परेको छ ।

घरमा नै बसेर अफिसको काम पनि समय व्यवस्थापन त गरिएकै छ । तर, सँगै घरखेतीको काममा पनि सहयोग गर्ने र समय दिइएको छ । साथीभाईहरूसँग भेटघाट र कुराकानी पनि गर्न पाइएको छ ।

लामो समयपछि यो लकडाउन अवधिमा घरको काममा पनि केही मात्रामा सघाउने अवसर मिलेको छ । गाउँघरमा खेतीपाती गर्नको लागि लकडाउनले खासै प्रभाव पारेको छैन । किसानहरू दैनिक जस्तो खेतीपातीमा लागिरहेकै छन् । मेरो परिवार पनि कृषक परिवार भएको हुँदा सबै जना खेतीपातीको काममा खट्नुहुन्छ । अहिले मकै गोड्ने मल हाल्ने सिजन भएकोले गाउँघरमा सबै जना यही काममा व्यस्त छन् ।

खेतीपाती नगरे फेरी भोकमरी लाग्ला भन्ने चिन्ता पनि छ । त्यसैले त सबै किसानहरू उत्पादन गर्नको लागि खेतीपाती गर्दैछन्, गाउँघरमा ।

यो लकडाउन अवधिलाई सदूपयोग गर्दै केही पुस्तकहरूको अध्ययन पनि गर्ने मौका मिल्यो । ‘खबुज’ र ‘नथिया’ उपन्यास पढी सिध्याएँ । खबुज उपन्यास खाडी मुलुक गएका युवाको दुःख र सङ्घर्षको कथा रहेछ । परिवार र आफू सुखी जीवन विताउने चाहना र सपनाले विदेशीएकाहरूले कतिसम्म दुःख गर्नुपर्दाे रहेछ भन्ने चित्रण यो उपन्यासले गरेको छ । उपन्यास पढ्दै गर्दा खाडी मुलुकमा रहनु भएका आफ्नै दुई जना दाजुहरूलाई धेरै सम्झेँ । आँखा रसाए । उनीहरूले पनि यस्तै दुःख गर्दै त होलान् भन्ने लाग्यो ।

यस्तै, नथिया उपन्यास नेपाली समुदायकै वादी महिलाहरूको अवस्थाको विषयमा लेखिएको रहेछ । वादी महिलाहरूको अवस्था र बाध्यताहरू बुझ्ने यो उपन्यास पढ्नैपर्ने रहेछ । उनीहरूले भोग्नु परेको दुःख र सङ्घर्षको कथाले मन छोयो । कारुणिक कथा छ यो ।

लकडाउन भए पनि घरमै बसेर कार्यालयको कामहरू पनि गर्न सक्ने जति गर्ने प्रयास गरिरहेको छु । केही डाटाबेसको बाँकी रहेको कामहरू ग¥यौं । साथै फिल्डका काम गर्ने ठाउँहरू, विस्थापित बस्तीहरूको अवस्थाको विश्लेषण गरी प्रतिवेदनहरू तयार गर्ने जस्ता कार्यहरू पनि गरियो ।

अव चिन्ता लाग्न थालिसक्यो । विस्थापित र भूमिहीन परिवारको पुनर्वासको लागि सहजीकरणको काम हाम्रो जिम्मेवारी थियो । २ महिनादेखि काम गर्न पाएका छैनौं । अव अझै कति समय फिल्डको काम गर्न नपाइने हो । पुनर्निर्माण प्राधिकरणको समय पनि सक्किन लागिसक्यो । त्यो भन्दा पनि हाम्रो दिगो समाधान परियोजनाको समयअवधि पनि सकिने अवस्थामा छ । यसो हुँदा बाँकी भूमिहीन र विस्थापित परिवारको पुनर्निर्माण र पुनर्वासको लागि जग्गा व्यवस्थापनको काम के हुने होला ? अहिलेसम्म विस्थापित शिविरमै बसोबास गर्दै आइरहेका परिवारको लागि सहजीकरण कसरी गर्ने होला, यस्तै चिन्ता बढ्न थालेको छ ।

प्रकशित मिति : बिहिबार, मे १४, २०२०