कोरोना प्रभाव : कृषि र शिक्षाको बहस थालौं

गोपाल कृष्ण बस्नेत

आज विश्वका २१५ भन्दा बढी राष्ट्रहरू कोरोना माहामारिको चपेटमा फसेका छन् । नेपाल पनि प्रभावित देश मध्य एक हुन पुग्यो । कोभिड– १९ को सङ्क्रमण फैलनबाट रोक्नका लागि धेरै देशहरूले लकडाउनको रणनीति लिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको प्रभाव दीर्घकालिन समयसम्म रहिरहने र लकडाउन छिटै हटाएमा यसले विकराल रुप लिन सक्ने चेतावनी दिँदै आएको छ । यस्तो अवस्थामा बन्दाबन्दी कहिलेसम्म लम्बिन्छ भन्न सकिने अवस्था छैन ।

लकडाउनले घरभित्र थुनिकएको आज डेढ महिना भइसक्यो । घरभित्रको बसाइ अहिले सम्म त सहज नै छ । तर लकडाउन थपिँदै गएमा कष्टप्रद हुनेमा दुई मत छैन । तर यो समयमा हामी सबैले केहि नयाँ अनुभूती भने गरेका छौँ ।

शान्त आकाश र वातवरणमा चराहरूको चिरवीर आवाज प्रशस्त सुनिन थालेका छन् । बिहान बेलुकी पुजा पाठमा बजाइने घण्टा र शंखले वातावरणलाई नै गुञ्जयमान बनाएको छ । घरको छतबाट सुन्दर र सफा डाडाँहरूको दृष्यावलोकन गर्न पाइएको छ । पढ्न मन लागेर पनि समय नमिलेर थन्क्याइएका किताबहरू पढ्न पाइएको छ । आफ्नो परिवार र छोरा छोरीलाई समय दिन नपाएका अविभावकले पर्याप्त समय उनीहरूसँंग बिताउन पाएका छन् । सबै भन्दा ठूलो कुरा प्रकृतिको सर्बश्रेष्ठ प्राणि मानिस अर्थात हामी प्रकृतिको उपज सामान्य प्राणि मात्र हो भनी प्रमाणित गरिदिएको छ ।

विश्वका शक्तिशालि देशहरूसहित नेपालले पनि कोरोनाको डटेर सामना गरिरहेका छ । तर देशलाई पूर्णरुपमा बन्द गरि हामी कहिलेसम्म बस्न सक्छौ ? कोरोनापछिको आर्थिक तथा सामाजिक असरलाई अहिले नै विश्लेषण गरि दीर्घकालिन योजनाहरू तर्जुमा गर्नु आजको आवश्यकता रहेको छ । लकडाउनको समयलाई नितान्त रणनीतिक समयको रूपमा सदूपयोग गर्नुपर्ने आवश्यकतालाई सरकारले भूलेको छ ।

कोरोनाको प्रभावलाई न्यूनिकरण गर्नको लागि सामूहिक पहल लिनुपर्ने अवस्थामा देश भने राजनीतिक खिचातानीमा जेलिएको छ । जनतालाई आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूती गराउनुपर्ने अवस्थामा सत्ताको खेलमा सत्तारुढ दलकै नेताहरू भिडिरहेका छन् । यस्ले हामीलाई झन निराश बनाएको छ ।

मनन्योग्य कुरा

बन्दाबन्दीले औद्योगिक कलकारखाना, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरू पूर्णत ठप्प छन् । तर ग्रामीण भेगमा भने कृषि कर्म निरन्तर चलिरहेको छ । त्यहि कृषि कर्मले नै भोलिका दिनमा हामीलाई खाद्य सङ्कटबाट जोगाउने छ । लकडाउनको समयमा वर्षौदेखि बाझिँएको जमिनमा पुनः अनाज उमार्ने कामहरू सुरु भएका छन् । तर के अहिलेको फुर्सदको समयमा सुरु गरेको खेतीपातीको काम भोली माहामारीको न्यूनिकरणपछि पनि निरन्तर चलिरहला त ? हामीहरूको सामू पेचिलो प्रश्न हो यो ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार आ.व. २०७५/७६ मा १ अर्ब २७ करोड भन्दा बढीको तरकारी तथा खाद्यन्नको बीउ हामीले आयात गरेकाका छौँ । यस्तो अवस्थामा उन्नत बीउ बिजनमा मात्र भर पर्नु भन्दा स्थानीय स्तरमा राम्रो उत्पादन दिइरहेको रोग प्रतिरोधी रैथाने बालिहरूको पहिचान र संरक्षण गरिनुपर्छ । जसले गर्दा बीउ बिजनको आयातमा खर्चिएको ठूलो रकम स्वदेशमै परिचालन गर्न सकिन्छ । स्थानीय बीउ बिजनको प्रयोगले जैविक विविधताको संरक्षणले कालन्तरमा मानव स्वास्थ्यलाई फाइदा पुग्नेछ ।

भूकम्प नेपालमा मात्र गएको थियो, नाकाबन्दि पनि नेपाललाई मात्र लगाइएको थियो तर कोरोनाले विश्वलाई नै आक्रन्त पारेको छ । कोरोनाको प्रभावले विश्व अर्थतन्त्र नै ठप्प छ । बेरोजगारी दर बढ्दै छ । यस्तो अवस्थामा वैदेशिक सहायताको अपेक्षा देशले नगरेको नै उपयुक्त हुन्छ । नेपाली युवाहरू अबको केहि समय वैदेशिक रोजगारीका अवसरबाट वञ्चित हुनेछन् । वैदेशिक रोजागारीमा गएका ७० लाख भन्दा बढी युवाहरूमध्ये धेरै स्वदेश फर्कने छन् । देशमा बेरोजगार युवाहरूको जमात बढ्नेछ । यी सबै परिस्थीको उत्तम विश्लेषण गरि युवाहरूलाई स्वेदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुको विकल्प छैन ।

यसका लागि कृषिमा हामी रातारात परिवर्तन त गर्न सक्दैँनौ । तर कोशिस भने गर्न सक्छौ र गर्नुपर्छ । केहि स्थानीय निकायहरूले भने खेतीयोग्य जमिन बाझोँ राख्ने परिवारलाई कार्बाही गर्ने नीति लिएर काम सुरु गरिसकेका छन् । यो सुरुवात मात्र हो यसलाई निरन्तरता दिनका लागि भने स्थानीय निकायहरूले कृषि मैत्री वातावरणको सिर्जना गर्नुपर्दछ ।

कहि खेतीयोग्य जमिन बाझोँ छ भने कहिँ जग्गामा पहुँच नभएका कारण परिवारको जीविकोपार्जनमा समस्या छ । यस्तो परिस्थीतिमा बाझोँ जमिनको सदूपयोग गर्ने विकल्प सरकारले लिनुपर्छ । जसका लागि जमिनको हकवालाहरूलाई पनि उपयुक्त हुने नीतिको अबलम्बन गरिनु राम्रो हुन्छ ।

परम्परागत रूपमा चल्दै आएको पारिवारिक खेती प्रणालि र हाम्रा रैथाने बीउ बिजनको पुनरउत्पादनमा कोशिस र पहलहरू लिनुपर्छ । प्रविधिको भरमा बाच्ँन सिकेको विश्वलाई कोरोनाले वर्षाएको झापडबाट समयमै हामीले पाठ सिक्नुपर्छ । त्यसैले अब हामीले हाम्रो आफ्नो ठाउँमा जे जति जमिन अर्थात माटो छ त्यसको सदूपयोग गर्न सुरु गरी खाद्य सुरक्षामा जोड दिनुपर्छ ।

नेपालमा १५ लाख २३ हजारको हाराहारीमा श्रमिकहरू कृषि पेशामा सङ्लग्न भएको एक तथ्याङ्कले देखाएको छ । कोरोनापछि यो आङ्कडा केहि माथि उक्लनेमा दुई मत छैन । तर दीर्घकालिन रूपमा युवाहरूलाई कृषि कर्ममा आकर्षित गराउनको लागि स्थानीय निकायहरूले अहिले नै उत्पादन क्षेत्रको पहिचान गरि सोहि अनुसार गर्नुपर्ने देखिन्छ ।

किसान वर्गहरूले भोग्दै आएको मल खाद्य, बीउ बिजन, सिँचाइ र बजारको समस्यालाई समाधान गर्नुपर्दछ । लगानी सुरक्षाको प्रत्याभूति गराउनको लागि अनुदान मात्र होइन निश्चित मुल्य दर कामय गरि बजारको व्यवस्थापन गराउनुपर्ने छ । पारिवारिक व्यवसायिक खेती पद्धती आजको आवश्यकता हो यसलाई हामीले मनन् गरि सुरुवात अहिले उपयुक्त समय हो ।

विश्व श्रम सङ्गठनको तथ्याङ्क अनुसार विश्वव्यापी कोरोना माहामारीपछि ३ अर्व ३० करोड श्रम जनशक्ति मध्य विश्वमा १ अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ । भने २ अर्ब ७० करोड मजदूरहरू प्रभावित भएका छन् । यसको प्रभाव सबै भन्दा बढी नेपाल जस्तै विकाससिल देशहरूलाई पर्ने छ ।

शिक्षामा कृषि

बन्दाबन्दीको प्रभाव बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको छ । सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द छन् । नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । बालबालिकाको भविष्यलाई लिएर अविभावकहरू चिन्तामा छन् । नयाँ शैक्षिक सत्रको सुरुवातमा पाठ्यक्रमको विषयमा हामीले सोच्नु पर्नेछ । के चलिरहेको शिक्षा पद्धतीले प्राविधिक ज्ञान दिएको छ त ? के रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरेको छ ? पक्कै थिएन र छैन ।

घोकन्ते विद्याको संस्कार बसेको हाम्रो शिक्षा क्षेत्र शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । प्राविधिक र व्यवहारिक शिक्षा पद्धती नबस्दा अंग्रेजी भाषाको मोहले जसरी नेपाली भाषा र शव्दहरू लोप हुँदै गएका छन् त्यसरीनै युवाहरू विदेश लोप हुने संस्कारमा भुलेका छन् । डाक्टर, पाइलट, नर्स, इन्जिनियर बनाउने लोभमा हाम्रो वास्तविक कर्मलाई हामीले वेवास्ता गरिरहेका छौँ । र घोकन्ते विद्यासहितको डिग्री हातमा थमाई पढ्न भनि पैसा कमाउनको लागि अमेरीका अष्ट्रेलिया लगायतका देशमा छोरा छोरी धपाइरहेका छौँ ।

कृषि हाम्रो मूल कर्म हो । यसलाई माया र आदर गर्नुपर्छ भनि हामी पछिल्लो पुस्ताले हाम्रा बालबालिकालाई सिकाएका छैनौैँ । आज पनि बच्चाले राम्रोसँग पढेन र गृहकार्य गरेन भने भोली पर्सि हलि बन्छस् अनि ठिक हुन्छ भनेर कृषि पेशा प्रति नकरात्मक टिकाटिप्पणी गरी रहेका छौँ । तर कृषकले खाद्यन्न उत्पादन गरेनन् भने हामी भोकै हुन्छौँ भनेर कहिल्यै उनीहसँंग विचार मन्थन गरेका छैनौँ । धानबाट चामल निस्किल्छ भन्ने ज्ञान बालबालिकासँंग छैन । चामल खेतमा हैन पसलमा फल्छ भन्ने ज्ञानले उनीहरूको मष्तिस्कमा बास गरेको छ ।

त्यसैले, कोरोनापछिको शिक्षा नीति र पद्धती बदलिनुपर्छ । कृषि कर्मप्रति नयाँ पुस्तालाई आधुनिक प्रविधिसहित आकर्षित गराउनुपर्छ । कृषकले अनाज उत्पादन नगर्ने हुन भने हामीसँग प्रशस्त सम्पत्ति र पैसा भएपनि भोकमरीबाट हामी बच्न सक्दैनौँ भन्ने वास्तविकतालाई हामिले अङ्गाल्नुपर्छ र सिकाउनुपर्छ । जसरी राष्ट्रसेवक कर्मचारी, डाक्टर, इन्जिनियरहरूले सम्मान पाउँछन् त्यसरी नै किसानहरूले पनि सम्मान पाउने वातावरणको निर्माण अवको पुस्ताले गर्नुपर्छ ।

प्रकशित मिति : आइतबार, मे १०, २०२०

(उक्त लेख, २०७७ वैशाख २५ गतेको नागरिक दैनिकमा प्रकाशन भएको थियो ।)