लकडाउन अनुभूति : गाउँमा बस्दा धेरै सहज हुने रहेछ

मेनुका आचार्य

कोभिड– १९ भाइरस चीनको वुहान सहरमा १७ नोभेम्वर २०१९ मा पहिलो पटक देखिएको हो । यो भाइरस संसारका लगभग सबै देशमा फैलिइ सकेको छ । यस कारण विश्व सामाजिक आर्थिक व्यवस्थामा नै अकल्पनिय असर परेको छ ।

नेपालको सन्दर्भमा पनि पछिल्ला दिनमा यो भाइरसको फैलावट बढीरहेको छ । मे ७ सम्म ९९ जना सङ्क्रमित भइसके । जसमध्ये २२ जना निको भएर घर फर्केका छन् भने बाँकी अझै उपचाररत छन् ।

अहिलेसम्म उदयपुर, विरगञ्ज, झापा, महोत्तरी, कास्की, बाग्लुङ, बाँके, कैलालीलगायतका जिल्लामा सङ्क्रमितहरू भेटिएका छन् । कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले चैत्र ११ बाट देशव्यापी लकडाउन गरेको छ । जुन निरन्तर छ । यसरी हेर्दा कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ एकिन साथ भन्न सकिने अवस्था छैन ।

कर्मचारी भएकोले अफिस जाने अनि बन्द कोठामा काम गर्ने बानी परिसकेको थियो । तर, लकडाउनका कारण गाउँंमा बन्दि भएर बस्दा मेरो मानसपटलमा विभिन्न कुराहरू खेलिरहेका छन् । पक्कै पनि गाँउमा बस्दा केहि कुरा सहज भइरहेको छ भने केहि कुरामा असहजता पनि ।

लकडाउन भएदेखि चितवनको भरतपुर १३ मा बस्दै गर्दा मेरो भोगाइमा स्वास्थ्य, शिक्षा, कृषि, व्यापार, कलकारखाना, यातायातलगायत सम्पूर्ण क्षेत्रमा केहि न केहि कुरामा नकारात्मक असर परिरहेको देख्छु । तर गाउँको स्थिति हेर्दा सबै गज्जबले चलिरहेको छ भन्ने लाग्छ ।

कृषि तथा पशुपालनमा निर्भर समुदाय प्रायः जसो सबै जनाले दैनिक रूपमा खेतमा धान गोड्ने, मकै गोड्ने, राज्मा थन्क्याउने, गाई, भैसीलाई घाँस काटने, दुध बेच्न डेरी लाने, तरकारी उत्पादन गर्ने आदि काममा छिमेकीहरू मिली अर्म पर्म गरि व्यस्त भइरहदा लकडाउनको प्रभाव नै छैन कि जस्तो लाग्छ ।

घरि घरी अप्ठ्यारोमा परेका किसानहरू र यहि मौकामा पैसा कमाउने नियतका विचौलियाहरू साइकलमा, अटोरिक्सामा विभिन्न प्रकारका तरकारी, मकै, कुखुराहरू बेच्न लाइन लगाएर सस्तोमा बेच्न घर घर आइरहेका छन् ।
प्रशस्त मात्रामा दुध, दहि, र हरिया सागसब्जी उपलब्ध भइरहेकोे छ । प्रायः सबैका घरमा परिवारका सबै जना भएर गफ गर्ने गरेको र मिलिजुली काम गरेको देख्दा कुनै प्रभाव नै नपरेको जस्तो भान हुन्छ । गाउँले जीवन झन सहज भए जस्तो लागिरहेको छ ।

अघि पछि सामाग्रीहरू खरिद गर्न बजार जानुपर्ने तर अहिले त कृषि उत्पादनहरू घर घरमा आइरहेका छन् । सस्तो पनि पाइरहेको छौँ । प्रायः जसो तरकारी, सागसब्जी सबैका घर घरमा उत्पादन भइरहेका छन् । छिमेकी घरबाट सरसापटमा पनि दैनिकी चलिरहेको छ । किसानहरू नियमित खेतबारीमा काम गर्ने, वरपर हिड्डुल गर्ने जस्ता कामहरू सहज रूपमा चलिरहेका छन् । लकडाउनका बेला पनि खेतका गह्राहरूमा हरिया मकै, धान फलेकै छ । मज्जाले काम गर्न प्रशस्त मात्रामा समय पुगेको देखिन्छ ।

सहरमा बस्न बानी परिसकेका प्रायः मानिसहरू गाउँ फर्किएका छन् भने कोहि कोहि गाँउका मान्छेहरू अघि पछि गाँउ छोडेर सहर पसेकाहरू किन गाउँ आएका होलान् भनि प्रश्न गर्दै गाउँको महत्व झल्किने खालका कुरा एक आपसमा गरेको सुनिन्छ । कोरोनाले गर्दा फुटेका घर जुटेका छन् भने गाउँलाई हेलाँ गर्नेहरूको गाँउप्रति आकर्षण बढेको पाइएको छ । हिजो केहि नगर्नेहरू आज आफनो घर, खेतबारीमा जुटेको देखिन्छ । यसरी हेर्दा त महिला र पुरुषको बीचको भिन्नता पनि घटेको भान भइरहेको छ ।

अर्कोतर्फ व्यावसायिक रूपमा ठूलो मात्रामा कृषि उत्पादन गर्नेहरूलाई भने ठूलो मार परेको छ । गाउँका साना साना पसलहरू साँझ बिहान खुलिरहेका छन् । तर त्यस्तो सबैतिर काहाँ छ र ? सहर सबै बन्द छन् । प्रायः तरकारी तथा फलफुलहरू बारीमा नै कुहिन थालेका छन् । कुखुरा पालन गर्ने किसानहरू १८० रुपियाँ प्रति गोटा किनेको चल्ला ६ महिना पालेर १०० देखि १५० रुपियाँ प्रति केजी बिक्री गर्नुपर्ने तथा जिउदै गाड्नु पर्ने बाध्यतामा पनि छन् । गाइवस्तुलाई खुवाउने दाना चोकरको मुल्य बढेको छ । बेलाबेलामा दुग्ध डेरी बन्द हुँदा किसानहरू मारमा परेका छन् ।

स्वास्थ्य सम्बन्धि अवस्थालाई हेर्ने हो भने नवजात शिशुहरूलाई लगाउनु पर्ने नियमित खोप लगाउन पाइएको छैन । घरमा भएका बिरामी तथा बुढाबुढीलाई समयमा अस्पताल पु¥याउन समस्या भइरहेको छ भने नियमित खानुपर्ने औषधीको अभावले पिरोलिरहेको छ ।

यसरी हेर्दा कोरोना कसैका लागि अभिशाप कसैका लागि अवसर भएको छ र पनि तुलनात्मक रूपमा यस्ता महामारीका बेला सहरी जीवन भन्दा गाउँले जीवननै सहज हुने रहेछ, यहि अनुभूति हुँदैछ ।

प्रकशित मिति : आइतबार, मे १०, २०२०

CSRC Nepal