लकडाउन अनुभूति : गाउँघर नै प्यारो छ

सुष्मा न्यौपाने

यतिबेला संसारलाई नोबल कोरोना भाइसर ‘कोभिड– १९’ ले बेस्सरी थला पारेको छ । ख्याल ख्यालमै नेपालमा पनि महामारी आइपुग्यो । विकसित देशमा त यति धेरै असर पारेको कोरोना नेपालमा छिरेमा के होला ? सबै सखाप हुन्छ । न प्रविधि, न जनशक्ति न संरचना । धेरैको सोंचाई र भनाई यस्तै थियो । भाग्यवश हालम्म यसले नेपालमा मानविय क्षती गर्न सकेको छैन । ९९ सङ्क्रमितहरू मध्ये २२ निको भएर घर फर्केका छन् । अन्य देशको गम्भिर अवस्था देखेपछि सङ्क्रमणको प्रभाव नफैलियोस् भनेर नेपाल सरकारले मुलुक बन्दाबन्दी ‘लकडाउन’ गरेको पनि करिव डेढ महिना भयो ।

कोरोना महामारीको उपचार पद्धती ठ्याक्कै पत्ता लागि सकेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिकित्सक तथा वैज्ञानिकहरू यसको खोजीमा लागेका छन् । आशा छ चाँडै यो महामारी अन्त्य हुनेछ । विश्वमा भइरहेको यो अकल्पनिय मानविय क्षति रोकिनेछ । र त्रासमा बाँचिरहेका अर्बाै मानिसहरू फेरि पनि ढुक्कसँग सामान्य जीवन यापनमा फर्कने छन् ।

हजारौं मानिसहरू सहर छाडेर आआफ्ना गाउँघर फर्केका छन् । यतिबेला गाउँघरमा मानिसहरू बढी छन् । गाउँमा जतिसुकै महामारी, नाकाबन्द, नेपालबन्द वा यी यस्ता सङ्कट आइपर्दा पनि मानिस खान नपाएर मर्नुपर्ने अवस्था कमै हुन्छ । सहर बस्दा समस्या हुने देखेर मानिसहरू गाउँघरफर्क अभियानमा लागेको देखियो ।

गाउँमा एकले अर्कालाई भाइचारा राख्ने, माया गर्ने, सहयोग गर्ने सद्भाव राख्ने परिपाटी मरिसकेको छैन । खेतीपाती हुने, गाई बस्तु पाल्नेलाई त यसै पनि यी यस्ता अप्ठ्यारोमा पनि खान, बस्नको लागि खासै अप्ठ्यारो पर्दैन । नहुनेलाई पनि सहरको तुलनामा कम अभाव हुन्छ । एैंचो पैचोको चलन सकिएको छैन । यद्यपि कमी भने भएको महशुस हुन थालेको छ ।

सहरमा बसेकाहरूसँग कुराकानी गर्दा, उनीहरूले सामाजिक सञ्जालमा लेखेका स्टाट्स हेर्दा लाग्छ, असाध्यै अप्ठ्यारोमा छन् । गाउँघरमा लकडाउनले केहि कुराहरू बदलियका छन् । मानिसहरू सचेत भएका छन् । धेरै मानिस भेला हुन, जात्रा, पर्व मनाउन छाडेका छन् । कोरोनाले सामाजिक दूरी केही बढाएको छ । घरमा, खेतीमा अझै धेरै काम थपिएको छ । गाउँघरमा कृषि कर्म गर्नको लागि भिडभाड नगरी गर्नको लागि खुल्ला गरेकै छ ।

लकडाउनपछि घरमै र वरपरको वातावरणमा सिमीत हुनु परेको छ । दैनिकी केही फेरिएको छ । त्यसअघि विहानदेखि बेलुकीसम्म कार्यालय र फिल्डको काममा खटिनु पथ्र्याे, अहिले ‘वर्क फ्रम होम्’ अर्थात घरमै बसेर कार्यालयको काम । केही घरभित्र र घरखेतीको काममा दैनिकी वितिरहेको छ । यो अवस्था कहिलेसम्म लम्बिन्छ त्यो लकडाउनको भर पर्ने कुरा भयो । सुरुको केही दिन असहज महशुस भएपनि अहिले सामान्यीकरण हुँदै गएको छ ।

हामी भूकम्पपछि विस्थापित तथा भूमिहीन परिवारको पुनस्र्थापनको लागि वकालत अभियानमा क्रियाशील छौं । विस्थापित र भूमिहीन परिवार जसलाई समस्या परेको छ, उनीहरूलाई बसोबासको लागि जग्गा (घडेरी) खोज्न, रजिष्ट्रेशन पास गर्न, कागजपत्र जुटाउन सधैं हतारो । घडेरी खरिद गरेका कसकसले घर बनाए, वा बनाएनन् । छुटेका लाभग्राहीको अवस्था के हुने हो ? हतारै हतारोमा समय बितेको पत्तै नहुने । शुक्रबार आएपछि हप्ताभरीको अपडेट तयार गरी कार्यालयमा पठायो । फिल्ड हिड्नुअघि योजना बनायो, भ्रमण स्विकृती गरायो । फर्केपछि प्रतिवेदन, खर्च, उपलब्धी । अफिसमा फाईल अस्तव्यस्त छ । यस्तैमा महिना बितिसक्छ । फेरी मासिक योजना र रिपोर्ट । कुन काममा हरियो, रातो र पहेलो आउँने हो ? यस्तै चिन्ता हुने । पुनर्निर्माणले के भन्छ ? मालपोत, नापीमा कति कराउँनु ? जनप्रतिनिधिको आफ्नै सुर छ, आफ्नै कुरा छ । विस्थापित र भूमिहीन कता बटारिदैछन् ? फेरी भूमि अभियान तर्फ के गर्ने हो ? कता बिर्तावाल तिरो तिर्न आईसक्यो ? कुन वडामा जाने हो । कहाँ जग्गा किनबेच हुँदैछ ? यस्तै यस्तैमा दिन, महिना, वर्ष बिते । भूमि अभियानमा जोडिएको पनि १० वर्ष बढी भइसके छ । यस्तो अनुभवको लेखन गर्ने हो भने एउटा कितावै तयार होला जस्तो लाग्न थालेको छ । यस्तै यस्तैमा मात्र व्यस्त हुँदा घरपरिवार, आफन्त, साथी सङ्गी, गाउँघर, घरमा भएका बाख्रा, पाठा, भैसी, घरैछेउको बारीको पाटो पनि पराई भइसकेछन् । विगत सम्झेँ । स्कुल जीवन सम्झेँ । साथी सङ्गी सम्झेँ । यस्तो बेलामा साथी सङ्गीको अझ बढी याद आउँदो रहेछ । बालपनको याद पनि आइरेहछ । यस्तो याद अहिले गाउँघर, खेतीपाती, घाँसपातले दिलाइरहेको छ ।

परिवारसँगै बसेर कुराकानी गर्न, काम गर्न, फुर्सदले खाना, खाजा खान नपाएको धेरै भएछ । खेत छउकै काईयाँघारी र बिलौनेघारी नपुगेको वर्षै भएछ । घास, दाउराको भारी बोकेर भीरजस्तै डोब मात्रै भएको बाटोमा चप्पल फुकालेर नहिँडेको त वर्षौ बितेछ । खेती गर्ने मान्छे नहुँदा अरुलाई दिएको गैराको पाटो र ओल्ला खेत अनि हरिको खेत चिन्नै नसकिने गरी बदलिएछ । कुलामुनी र रुप्सेपानीमा अलैचीले संसारै ढाकीसकेछ ।

वर्षौ पहिले सारेका आँप, अनार, खुर्पानी, सरेर फल्नै थालिसकेछ । हामी सानो छँदा बल खेल्ने, विद्यालयले दौडाउने गरेको पण्डित काकाको गैरीपाटोमा वर्षेनी १ लाख भन्दा धेरैको तरकारी फलाएर बेच्न थालेका रहेछन् । ढुङ्गा माटोको भत्किन लागेको गाह्रो र चुहिने छाना भएको स्कुल २/३ ढलान भइसकेछ । भोगटिनीमा पनि घरैपिच्छी सडक पुगिसेकेछ । हामीले वैशाख लाग्दा मकै रोप्ने गरेको गैराको पाटोमा हरि काकाले चैत्रमै फर्सीको मुन्टा र प्याजका डल्ला निकालीसकेछन् । साँच्चै गाउँघर धेरै बदलिएछ । बिहान, बेलुका, बिदाको दिन बनमा गएर घास नकाटेको त झन कति हो कति भैसकेछ । बनको पनि नियास्रो लागेजस्तो भयो । दिदि र बहिनीहरूसंग सिरानपाखो, चुच्चेढुंगा, कुवा, देउराली हुदै बनका ति बुटाहरू, रुखबिरुवा र लालिगुरास, सुनपाती फुलसंग रमाउँदा स्वर्गै पुगेजस्तो रमाईलो भयो । गाउँमै भएर पनि म त धेरै कुरासँग अन्जान भएको रहेछु ।

यसपालीको लकडाउनले धेरैपछि परिवारसँग रमाउँने, खेतीपाती, वस्तुभाउसँग नजिकिने अवसर पनि मिल्यो । बिहान उठ्यो । कालो चियो पियो । खेर गएर जाने पानीलाई खाल्डोमा जम्मा गरी तरकारीमा लगाउने गरिएको छ । आजकल दैनिकी भएको छ तरकारी बारीमा पानी हाल्ने । यतिन्जेलमा भैसीको दुध तातिसेको हुन्छ । फेरी अर्काे गिलास दुध चिया पियो । एकछिन अनलाइन बस्यो । अपडेट हेर्यो । इमेलहरू रेस्पोन्स ग¥र्याे ।

आफ्नै बारीबाट टिपेका ताजा तरकारीहरू, नियमित कोइरालको अचारसहित खाना नियमितता बनेको छ । बनाउन काममा बेलाबखत सघायो । दहि र दुध हुने नै भयो । घरमा दुहुँनो भैसी छ । खाना खायो । खानापछिको काम धन्दा सकेर ‘वर्क फ्रम होम्’ । कार्यालय जानु नपरेपनि घरमै बसेर गर्न सकिने कामको सूची तयार छ । दैनिकी त्यसमा पनि वित्छ । अनि बस्तुभाउको काम र बेलुकीको घरधन्दा सघायो । साझँमा फेरी तरकारी बारीमा पानी । कहिलेकाहिँ गोडमेल पनि । बेलुकीको खानापछि अनलाइन अपडेट चेक । कोरोनाले विश्व सकिने होकी झै दैनिक सयौंको सङ्ख्यामा मानिसको मृत्यु भइरहेको छ । केही सन्देसमुलक भिडियो र केही छिन् पढाई । यसरी लकडाउन दैनिकी बितिरहेछ । धेरैपछि विकासे काम र ल्यापटप भन्दा परको संसारमा रमाउन पाईएको छ ।

गाउँघरका काका, काकी, आमाहरू, ठूलाबा, ठूलीआमा, थलिएका हजुरबा, हजुरआमा, बर्षैदेखि मजाले सँगै बस्न, गफ गर्न नपाईएका साथीहरू पनि भेटिन्छन् । दुःख, सुखका कुरा सुन्यो सुनायो ।

बजार नजिकै छ । २० मिनेटको दूरीमा । कहिले वस्तुलाई । कहिले मान्छेलाई औषधी किन्न, अत्यावश्यक सामग्रीहरू खरिद गर्न कालिकास्थान र घुम्ती बजार जानुपर्छ । आशा पनि गर्छन्, सकेजति सहयोग पनि गरेकी छु । यस्तो आपत विपद्को बेला सहयोग गर्न पनि पर्यो । समय मिलाएर हरेक दिन २÷३ जना भूमि अभियानका अगुवालाई फोन गर्ने, हालखबर सोध्ने र सुनाउँने अनि आफुलाई थाहा भएको सल्लाह दिने काम पनि गर्दै छु ।

लकडाउनमा गाउँका प्राय सबैका आमाहरू धेरै खुसी छन् । वर्षौदेखि पढाई, जागिर र अन्य विविध कामले परिवारबाट टाढीएकाहरू सँगै बस्न पाएका छन् । गाउँघर फर्केका छन् । एक हिसाबले नियास्रो मेटियो भन्छन्, खेतीपाती, बस्तुभाउको काममा आमाहरूले सहयोग पाएका छन् । काम, रोगजारमासन्तान घरमा बस्न नपाएपछि सर्धै न्याउलीझै एक्लै भकी माईलीआमाको घरभरी छोरा, बुहारी र नातीनीहरू हुदा खुसीको सिमा छैन । सधै काममा भ्याई नभ्याई भएकी पल्लाबारी ठुलीआमाको पनि छोरा, बुहारीले काम सघाउँन भ्याएपछि भारी अलि कम भएको छ । यस्तै यस्तै धेरै आमाहरू कामको सहयोग र सन्तानको आत्मियता संगै पाएर खुसी छन ।

घरको काममा पनि सघाएको छु । पल्लोबारी र आँगे खेतको तोरी उखेल्न, कुट्न, निफन्न र थन्क्याउन
भ्याइयो । भत्तेरचौर, आगेँखोला, हरिको खेत, आगँेखेत, पल्लोबारी लगातय सबै खेतबारीमा मल बोक्न, मकै रोपी सकियो । २ वर्षअघि काटेर पनि बोक्न नभ्याएको गैरीपाटोको दाउरा पनि बोकेर सक्कियो । घरमा भएका २ भैसी (माउपाडा) ५ बाख्रा सबैलाई घाँसपात निरन्तर सघाउन पाएको छु । हिलो भकारो छदैछ । यसैपाली पुरानो घरको अवशेष भत्काएर बनाएको घरछेउको ठूलो पाटोमा यी १५ दिनमा फर्सी, काक्रा, करेला, चित्लेभिन्डी, घिउसिमीका बोटहरू हलक्कै बढेका छन् । लसुन र प्याज, धनियाँ र साग पनि रहर लाग्दै छन् । अहिलेको सिजनमा पाइने फुलहरूले करेसाबारी हरियो भएको छ ।

गाउँमा पालिकाले राखिदिएको ‘फ्रि वाईफाई’ सुविधामा पनि धेरै मानिस जम्मा हुने गरेकोले बन्द गरिदिए । सङ्क्रमण फैलने डर भएकाले पनि यसो गरिएको हो । अन्य इन्टरनेट नभएकोले दिनमा २/३ पटक नेट खोल्दा (मोबाईल) डाटाबाट पैसा अलि धेरै काटिदोँ रहेछ । तर पनि चिन्ता छैन । चिन्ता एउटै कुराको छ, कोरानाको । यो नयाँ र अचम्मलाग्दो कोरोना भाईरस विश्वबाटै चाँडै हराओस् या यो विरुद्धको भ्याक्सिन्, औषधि पत्ता लागोस् । मान्छेले अकालमा ज्यान गुमाउँन र बाँच्नेले पीडा भोग्न नपरोस् । अनि अझै स्वार्थी भएर सोँच्दा हाम्रो जस्तो हरेक कुरामा कमजोर देशमा यो डरलाग्दो भाइरसले आक्रमण नगरोस् । कसैले अकालमा ज्यान गुमाउन नपरोस् । आआफ्नो नियमित काम गर्न पाइयोस् ।

यस पटकको गाउँ र सहरको अवस्था, आपतमा मान्छेहरूले सम्झिएको र फर्किएको गाउँ, रित्तिएको सहर, बाध्यताले रहेर पनि सहरको बिजोग सुन्दा, देख्दा गाउँप्रतिको माया र सम्मान अझै बढेर आयो । गाउँले हुनुमा गर्व बढेर आयो । खेतीपातीको काम, अन्नपात, तरकारी, दहि दुधको महत्व, एकअर्काबीचको माया, भावनात्मक सम्बन्ध र व्यवहार सम्झँदा साँच्चै गाउँले हुनुमा गर्व लाग्यो ।

प्रकशित मिति : शुक्रबार, मे ८, २०२०