कोभिड १९ बारेको त्यो इमेल

कमला गौतम

चैत ७ गते शुक्रबार विहान भूमिघर आएर कुन कुन पत्रिका आएछन् भनेर हेर्दे थिएँ । कान्तिपुर दैनिकको पहिलो पृष्ठका समाचारमा आँखा अडियो । ‘आवश्यक परे लकडाउन गर्न मोडालिटी बनाइँदै’, ‘भारतमा जनता कफ्र्यु’ र ‘७२ घण्टामै ५० सैयाको अस्पताल’ यस्ता समाचार छापिएका रहेछन । यस्ता समाचारले मन चसक्क भयो । नेपालमा पनि लकडाउन हुने हो कि भन्ने शङ्का उब्जियो । हुन त योभन्दा धेरै अघिदेखि नै कार्यालयमा कोरोनाबाट बच्नको लागि सावधानी अपनाउने विषयमा नियमित बैठक र छलफलहरू सुरु भइसकेको थियो ।

कार्यालयमा प्रवेश गर्दा हात खुट्टा धोएर मात्र प्रवेश गर्ने, बेलाबेलामा स्यानीटाइजरको प्रयोग गर्ने, बिहान र दिउँसो दुई पटक चियाको सट्टामा जिरा, ज्वानो, मेथी, नुन बेसार र कागती राखेर उमालेको पानी पिउने । रुघा खोकी लागे माक्सको प्रयोग गर्ने र एक अर्का बीचको दुरी कायम गर्ने अभ्यासमै ल्याइसकेका थियौँ ।

त्यसपछि इमेल खोली हेरेँ, जगत देउजा सरको ‘कोभिड १९ अपडेट’ शिर्षकको इमेल आएको रहेछ । त्यो दिन जगत देउजा सर र जगत बस्नेत सर दुबै जना कार्यालयमा हुनुहुन्नथ्यो । सिन्धुपाल्चोक जानु भएको थियो । काठमाडौं बाहिर घर भएका कर्मचारीहरू आफ्नो घर जान चाहेमा सार्वजनिक यातायात बन्द हुनु अगावै लाइन मेनेजरलाई जानकारी गराई जान सक्नुहुन्छ । घरमा बसेर काम गर्दा पनि बिदा लिइरहनु पर्ने छैन र दिगो समाधानका कर्मचारीहरू आलोपालो गरी बिदामा बस्नेगरी व्यवस्थापन गर्नुहोला भन्ने व्यहोरोका इमेल थियो ।

त्यति बेलासम्म बसपार्क र कोटेश्वर क्षेत्रमा काठमाडौ छाड्ने मानिसहरूको अत्यधिक भिडभाड सुरु भइसकेको थियो । मलाई त्यो दिन इमेल धेरै महत्वपूर्ण लागेन । काठमाडौ बाहिरका सहकर्मीहरू विनोद गौतम, भोजमान चौधरी, सुमित्रा थारु र सावित्री पुरी समयमै सकुशल घर पुग्नु भएको समाचार पाएपछि भने त्यो इमेलको महत्व थाहा पाउँदै गएँ ।

अन्तत् चैत ११ गतेदेखि सरकारले लकडाउन गर्ने घोषणा ग¥यो । र त्यो आजका दिनसम्म पनि जारी नै छ । त्यो इमेल समयमा नै नआएको भए उपत्यका बाहिर घर भएका साथीहरूको अवस्था कस्तो हुन्थ्यो होला भनेर अहिले पनि झस्कीरहन्छु ।

चैत ११ गतेदेखि २२ गतेसम्म घरमा बस्दा घरका कुना काप्चा सफा गर्ने, च्यातिएका तर सिलाएर लगाउन मिल्ने लुगा सिलाउने, करेसाबारी र फुलबारी गोडमेल गर्ने नयाँ विरुवा रोप्ने र बत्ति बनाउने काम गरेर बिताएँ । त्यो बाहेक बिहानको समयमा आफ्नै कम्पाउण्डभित्र छोराछोरीसँग व्याडमिन्टन खेल्ने गरेँ भने दुईवटा किताब भारतका प्रेरणादायी व्यक्तित्व अन्ना हजारेको जीवनीमा आधारित एउटा किताब र अर्को ‘छापामार युवतीको डायरी’ पढी सकेँ । त्यसबीचमा मिडिया अपडेट गर्ने काम पनि गरेँ ।

सञ्चार माध्यमको सर्वसुलभ पहुँचले लकडाउनको अवधिमा आफन्तहरूसँगको भौतिक दुरी कम भए पनि सामाजिक दुरी भने अझ बढाएको महशुस गरिरहेकी छु । देश बाहिरका खबरबाट त्रसित बनेको मन साँझको समयमा घरको छतबाट देखिने शिवपुरी डाँडा र नागार्जुन पहाडको सुन्दर र सफा दृश्य अनि चराहरूको चिरविर आवाजले केही शान्त हुन थालेको छ । नाकमुख छोपेर मान्छे मान्छेसँग डराएर भाग्दै हिँडेको यो समयबाट अहिले र अवको पुस्ताले सिक्नुपर्ने र आफ्नो व्यवहारमा फरक ल्याउनुपर्ने विषय धेरै छन् ।

चैत २३ गतेदेखि नियमित कार्यालय जान थालेँ । कार्यालय र घर अनि बिहान बेलुका घरको कामले पुरानै लयमा फर्किने कोशिस गर्दै थिएँ । अचानक एकदिन बिहान छोरी बिरामी परिन् । वैशाख १४ गते आइतबारदेखि दिनचर्या फेरिएर अस्पताल र घरमा सिमित हुन पुग्यो । १५ गते सोमबार बसुन्धराको चिरायु अस्पतालमा डा. उत्तम शर्माले छोरीको पेटमा भएको ढुङ्गाको अप्रेसन गरिदिनुभयो ।

चारदिनको अस्पताल बसाइमा मैले पहिले नै पढिसकेको र फेरि एकपटक पढ्न मन लागेको किताब ‘कल्याणी धर्ती’ अर्थात् “The Good Earth” पढेँ । पर्ल एस वकले अंग्रेजीमा लेखेको यो किताव सन् १९३१ अर्थात् आजभन्दा ८९ वर्ष अगाडि प्रकाशित भएको हो । यस किताबले नोवेल पुरस्कार र पुलिटजर पुरस्कार प्राप्त गरेको थियो । यसलाई २०४४ सालमा टीकाराम शर्माले नेपालीमा अनुवाद गरेर ‘कल्याणी धर्ती’को नाम दिएर प्रकाशित गरेका थिए । चिनको एउटा गाउँको किसान परिवार, वरिपरिको परिवेश, उसको जीवनमा आएका उतार चढावका घटनाहरू यसभित्र छन् । जसले नेपालको ग्रामीण भेगको सामाजिक जनजीवनको झल्को दिन्छ । धर्तीमाताले अर्थात् जग्गा जमिनले सधैँ मानिसको कल्याण गर्छ । माटो विनाको जीवन कल्पना पनि गर्न सकिन्न । जीवनको प्रारम्भ भएको माटो परिस्थिती बस् केहि समय बिर्से पनि जीवनको उत्तरार्धमा पुगेपछि अझ बढी प्रिय लाग्छ भन्ने यथार्थ यसले बोकेको छ ।

एक वर्ष गाउँमा धेरै पानी परेर खेतबारी सबै डुब्छ । नायकले खेतमा गर्ने काम केही नभएपछि घरको छाना फेर्ने, हलो कोदालो मर्मत गर्ने, गाइवस्तुको हेरचाह गर्ने, डोरी बाट्ने, हाँस किनेर बाढीको पानीमा चराउने गर्न थाल्छ । जुन आजको परिस्थितीसँग ठ्याक्कै मेल खान्छ । हुन त यो किताबमा राम्रा कुराहरू धेरै छन् । यो त एउटा सानो उदाहरण मात्रै हो । यसलाई धेरैले पढिसक्नु भएको छ । जसजसले पढ्नु भएको छैन एक पटक पढ्नु भए हुन्छ ।

अन्त्यमा कोरोनाले दिएको गिफ्ट (समय) लाई अमूल्य उपहार सम्झेर मनपर्ने र गर्न नभ्याएका कामहरू गरी समयको सदुपयोग गरौँ ।

प्रकशित मिति : बिहिबार, मे ७, २०२०

CSRC Nepal