लकडाउन : सदुपयोग र माटोको माया

कल्पना कार्की

विक्रम् सम्वत् १९९० सालको भूकम्पबारे हजुरबुबा, हजुरआमाबाट कथा सुनियो । २०४५ सालको भूकम्प एउटा बच्चाका रूपमा त्रास र उत्सुकतासहित अनुभव गरियो । २०७२ सालको भूकम्पको कोलाहल सचेत साक्षी र राहत एवम् पुनर्निर्माण सहयोगीका रूपमा ताजै छ । त्यसमा कयौं आफन्तले ज्यान गुमाए, घरहरू भत्के । भत्केको घर बनाउन लिएको ऋण तिरि नसक्दै अर्को महामारी आइपुग्यो, नोबेल कोरोना भाइरस ।

कोरोना महामारीले यतिबेला विश्व बन्दाबन्दीमा छ । नेपाल पनि ठप्प छ । आँखाले नदेखिने सरुवा विषाणुले मान्छेदेखि मान्छे नै डराउनुपर्ने अवस्था छ । सबैभन्दा नजिकका, एकाघरका सदस्यबीच पनि भौतिक दुरी कायम गर्नुपर्ने बाध्यता आईपरेको छ । यो आलेख तयार गर्दा सम्म अर्थात ६ मे सम्म विश्वमा २ लाख ५८ हजार ५१ जनाको मृत्यु र ३६ लाख ८५ हजार १ सय २९ जना सङ्क्रमित भइसकेका छन् । यसले स्वास्थ्य र अन्य क्षेत्रमा भएका विकास र आविष्कारलाई चुनौती दिँदैछ । विकासमा छलाङ मारेका शक्ति राष्ट्रहरू अमेरिका, चीन र युरोपेली देशहरूमा कोरोना निको बनाउने कुनै पनि औषधी बन्न सकेको छैन । खोप नै बन्ने त परको कुरा !

घरभित्र बन्दाबन्दी

कोरोना अघि जीवन र दैनिकी सामान्य थियो भन्ने ठानिन्छ । तर मलाई त्यस्तो लाग्दैन । बरू ती दिन झनै अस्त व्यस्त थिए । बिहान उठ, घरको सबै काम भ्याउ, हत्तारिँदै कार्यालय पुग, दिनभरी इमेल, फोन, बैठक, काम इत्यादिमा व्यस्त । बेलुकी अबेर घर फर्क । बेलुकीको लागि खानपिनका लागि सबै कुरा ठीकठाक पार । कार्यालयको डेडलाईन पुरा गर्नुपर्ने कामका लागि राती अबेरसम्म पनि कम्प्युटरमा काम गर्नैप¥यो । फेरी बिहान उठ, उही दिनचर्या सुरु । तर २०७६ चैत्र ११ गतेबाट कोरोनाका कारण देश पूर्णरुपमा बन्दाबन्दीमा गयो । त्यसपछि हामी अधिकांशका दिन प्रायः घरभित्रै बित्न थाले ।

बन्दाबन्दीको पहिलो हप्ता घरभरी कामै काम देखिए । जहिल्यैको हतारोका कारण गर्न नभ्याएका काम एक–एक गर्दै गर्न थालियो । आधा मन ‘वर्क फ्रम होम’ र आधा मन ‘घरको काम’ । पहिलो हप्ता कौशीका गमला गोड्न भ्याइयो । गमलाका फूल पुग्दो स्याहार पाएर अहिले ढकमक्क फुल्न थालेका छन् । दोस्रो हप्तादेखि घरको वातावरण अझै रमाइलो बन्यो । केही अघिदेखि बनाएको मल हालेर माछाको क्रेट र बोरामा रोपिएको फर्सी र सिमी उम्रिन थाले ।

परिवारका सबै सदस्यसँग बसेर खाना र खाजा खाने अवसर पाइयो । रसवरी, आलुचप, जेरी पकाउन सिकियो । यसै क्रममा अर्को कुरा पनि मनमा आइरह्यो, घरको काममा लाग्नु नपर्ने वा लाग्ने नगरेका पुरुषका हकमा सायद यो दोहोरो जिम्मेवारीको अनुभव, बोझ र महसुस कमै होला ।

लकडाउनले स्वः हेरचाहमा पनि मद्दत पुगेको छ । नियमित रूपमा पुग्दो पानी पिउने र समयमा सुत्ने पहिलो महत्वपूर्ण काम रहेछ । बिहान समयमा उठ्ने, १५ मिनेट योगा र १५ मिनेट ध्यान गर्न थालेँ । कुनै कुरा थाल्नुभन्दा त्यसको नियमितता बढी महत्वपूर्ण रहेको बोध गर्दै योग ध्यानलाई निरन्तरता दिइआएकी छु । जीवनमा सामान्य, मसिना लाग्ने अभ्यासहरू बढी शक्तिशाली र महत्वपूर्ण हुँदा रहेछन् । नियमित स्वःहेरचाहले मलाई भित्रैबाट ऊर्जा र आत्मविश्वास थपिरहेको हुन्छ । यसले आफूसँग जोडिएका व्यक्तिसँगको सम्बन्धलाई पनि सुमधुर बनाउन सहयोग पुग्छ । तनावमुक्त जीवन जीउने कुरा स्वभाव बन्दै जान्छ । दैनिक जीवनमा आइपर्ने समस्याहरूको विकल्प खोज्ने र स्पष्टसँग सोच्ने शक्ति विकसित हुन्छ ।

पहिलाको अस्त व्यस्ततामा विस्याहारमा परेका कितावहरू समेटियो, मिलाएर राखियो । चाखलाग्दा र चाँढै पढ्नुपर्ने कितावहरू अगाडि, सजिलै भेटिने गरी राखियो । बाँकीलाई हार मिलाएर व्यवस्थापन गरियो । कोठा थप सुन्दर र सफा देखियो । काम गर्ने मन र वातावरण बढ्यो । कार्यालयको काम पनि घरमा बसेर गर्ने अभ्यास र अनुभव भयो । घरको काम र कार्यालयको काममा कसरी सन्तुलन मिलाउने, सिकियो । घरमा जति नै वातावरण बनाउन खोज्दा पनि कार्यालयको दुई चिज भने धेरै मिस गरियो । पहिलो– काम गर्ने टेबल र दोस्रो– सहकर्मी टिम । हामी कार्यालय टिमबीच बेलाबेलामा भर्चुअल बैठकहरू भइरहेका छन् । तर भौतिक उपस्थितिको महत्व पनि उत्तिकै खड्कियो । समय मिल्दा निलम कार्की ‘निहारीका’ द्वारा लिखित ‘योगमाया’ पढेर सकियो ।

समस्या र चुनौतीले हामीलाई नयाँ विकल्प खोज्ने बाध्यता र सिर्जनात्मकताको मौका पनि दिँदा रहेछन् । घण्टौं धाएर बैठकका लागि जानुपर्ने बाध्यतालाई अहिले भर्चुअल बैठकबाट काम चलाइरहेका छौँ । मेरो विचारमा यस किसिमको परिपाटीलाई बढाएर लैजानु उपयुक्त हुन्छ । प्रायः घरबाट काम नगर्ने हामी निश्चित कामको योजना बनाएर घरबाटै काम गर्ने अभ्यास बढाए बाटोमा र लम्बेतान बैठकमा खेर जाने समय काममा लगाउन सकिने रहेछ ।

धेरै समयपछि छोरा अंकितसँग लामो समयसँगै बस्ने अवसर मिलेको छ । उसले यस वर्ष एसइईको परीक्षा दिनुपर्ने हो । तर बन्दाबन्दीको कारण उत्पन्न परिस्थितिले गर्दा परीक्षा स्थगित भएको छ । लकडाउनको पहिलो र दोस्रो हप्तासम्म त पढ्नका लागि राम्रो अवसर हो भन्ने कोणबाट उत्प्रेरित गरेँ र उ पनि विश्वस्त थियो । तालिका बमोजिम अभ्यासको निरन्तरता चलिरहेकै थियो । तर लकडाउन थपिँदै जाँदा सायद उभित्र निरासा, छटपटी बढ्दै गयो । उसले पनि भनेको त छैन, तर उसलाई लाग्दो हो– परीक्षा दिन पाएको भए अहिले नतिजाको पर्खाईमा हुन्थें, नयाँ कुराको खोजीमा र सिकाइमा लाग्न पाइन्थ्यो !

वैशाख १० गते आमा भेट्न बालकोट गएँ । छोराले पनि अरू धेरै जनासँग कुराकानी गर्न, खेल्न, घुलमिल हुन पायो । सायद उसको निरासा र छटपटी धेरै मेटियो । बालकोटको खुल्ला वातावरण, आमा र भाइबहिनीको साथले त्यहाँको बसाई रमाईलो, सुमधुर भयो । वरिपरी गहुँ पाकेका फाँट छन्, किसानहरू धमाधम गहुँ भित्र्याउने तरखरमा छन् । मेरा लागि प्रकृति, कृषि र कृषकसँगको सानिध्य सधैँ प्रेरक र सुखदायी हुने गर्छ । वैशाख ११ गते मातातिर्थ औँशीको दिन, आमालाई गुलाबको फूल दिएर माया साटासाट ग¥यौँ । आमासँग लगातार दुई हप्ता बसेको माध्यमिक तहको पढाईपछि शायद यो पहिलो पटक थियो !

खेतीपाती र जीवन

लकडाउनपछि तरकारीलगायत दैनिक उपभोग्य सामग्री किनमेलका लागि बाहिर निस्कन गाह्रो भयो । आफ्नै छतमा फलेको धनियाँको पात टिपेर तरकारीमा राख्न पाउँदाको सजिलो र खुसी नै बेग्लै ! लकडाउनले मलाई माटोको शक्ति र कृषि प्रणालीप्रति पहिलेभन्दा अझ बढी माया र मोह बढेर आएको छ । शायद आफ्नो जग्गा भएको भए हामीले यो अवधिमा विस्तारै परिवारलाई पुग्दो सागसब्जी फलाउन सक्थ्यौं । तर काठमाडौंमा प्रायः सबैको अरूले फलाएको किनेर मात्रै खान पाउने अवस्था छ । किनेर खान पनि आफूसँग पैसा भएन भने के गर्ने ? यस्तो अवस्थामा भएका थुप्रै परिवारहरूको अवस्था कस्तो होला ? श्रमका लागि घरबाट टाढा पुगेका मजदूरहरूलाई पैदलै घर फर्किने साहस पनि लम्बिँदो बन्दाबन्दीमा उनीहरू भोग्नु परेको अभाव र तनावले दिएको हुनुपर्छ ।

यतिबेला म आफू जन्मिएको गाउँ सम्झिरहेकी छु । हजुरबुबाको दुई दाजु भाई, उहाँहरुको पाँच घरको सानो बस्ती । उत्तर र दक्षिण तर्फ दुई स–साना जङ्गल कटेपछि एउटा शान्त गाउँ छ– धनेश्वारा । गाउँको वरपर खेत, बारी र बस्ती । हजुरबुबाको जीवन खेती किसानीमा बित्यो । त्यतिबेलाको खेती किसानी किन र कति महत्वपूर्ण थियो भन्ने कुरा अहिले आएर महसुस गर्दैछु । खेतीपाती सम्बन्धमा उहाँले देखाउनु भएको बाटो र माटोप्रतिको माया कहिल्यै भुल्न नहुने उहाँको अर्ति उपदेश हुन्थ्यो । अहिले त्यो सम्झेर खुसी र गर्व लाग्छ ।

त्यसबेला उहाँहरूले हामीले भन्दा राम्रोसँग बुझेर र व्यवस्थित तरिकाले अग्र्यानिक खेती गर्नु भएको थियो । घरमा भैंसी, गाई, गोरू, बाख्रा र केही कुखुरा पालिएका हुन्थे । गोबर मल, बाख्राको जुत्तो, कुखुराको सुली छुट्टाछुट्टै हुन्थे । कुन बालीमा कुन मल हाल्ने, त्यो उहाँहरूलाई राम्ररी थाहा थियो । बाख्राको मल छिटो लाग्छ भनिन्थ्यो । कुखुराको सुली (मल) पनि उत्तिकै मलिलो हुन्छ । धान गोड्दा किरा लागेका धानलाई टिमुराको काँडाले अघि–अघि फुकाउँदै हिडिन्थ्यो । हिउँदमा खेत–खेतमा गोठ लगिन्थ्यो । तर आजकाल सबै कुरामा विषादी छिट्ने, रासायनिक मल हाल्ने, छिटो फलाउन दबाई हाल्ने होडबाजी चलेको छ । अहिले आएर हाम्रो खेती प्रणाली, खाना र स्वास्थ्य हाम्रो मात्रै होइन, विश्वकै एउटा प्रमुख चुनौती बन्न पुगेको छ ।

मेरो गाउँमा दाजुहरूको बिवाह भएपछि हामी एकताका पाँच घरबाट बढेर ९ घर पुगेका थियौँ । अर्मपर्मबाट खेतीपाती गरिन्थ्यो । खानेपानीको सुविधा बढेपछि लसुन, प्याज, आलु र काउली फलाउने होडबाजी हुन्थ्यो । गाउँमा हरियाली बढेको थियो । अहिले गाउँमा काका र दाइ जम्मा दुई घरमात्र हुनुहुन्छ । बाँकी कोही सडकछेउ घर बनाएर सर्नु भएको छ, कोही अध्ययन र रोजगारीको सिलसिलामा चितवन र काठमाडौंमा छौँ । त्यहाँको खेतबाहेकका पाखाबारीहरू प्रायः बाँझै छन् । त्यतिबेला पनि हामीलाई खेतवारीको उब्जनीले मुस्किलले ६ महिना मात्र खान पुग्थ्यो, बाँकी ६ महिना बेसाएरै खानुपथ्र्यो । त्यसैकारण पनि हामीमध्ये धेरैलाई गाउँ छोडेर हिड्नुपर्ने बाध्यता भयो ।

केही वर्ष अघि दुई तीन जना साथीहरू मिलेर गाउँमै केही गर्ने सोच र जोश राखेर खेती सुरु गरे । तर घाटा लाग्यो भनेर उनीहरूले बीचैमै काम छोडे । विकासमा हामीले केही फड्को मा¥यौं । सूचना र सञ्चारका हिसाबले छोटो समयमै धेरै अगाडि बढ्न सक्यौं । तर कृषिलाई सम्मानित पेशाका रुपमा लिनका लागि नीति र लगानी दुवै पुगेको छैन । जीविकाका लागि गरिने विभिन्न काममध्ये कृषि प्रमुख र सम्मानित पेशा हो भन्ने बनाउन संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ठोस कदम चाल्नु पर्दछ ।

हरेक स्थानीय सरकारले आफ्नो पालिकाभित्र उत्पादन र अपुग खाद्यान्नको आँकडा लिनुपर्दछ । उपलब्ध जमिन र अवस्थाको विश्लेषण पनि गर्न जरुरी छ । आजको एउटा मूल समस्या भनेको उत्पादक वर्गसँग जमिनको पहुँच र स्वामित्व नहुनु हो । कृषिभन्दा फरक पेशा गर्नेहरूसँग नै बढी जमिन छ । त्यसैले जमिन बाँझो रहँदै आएको छ । जमिनलाई सम्पत्ति, प्रतिष्ठा र पहँुचभन्दा उत्पादनको साधनको रूपमा हेर्ने दृष्टिकोण स्थापित हुन जरूरी छ । यो कुरा नीति निर्माता र राजनीतिक दलका नेता, कार्यकर्ता सबैले बुझ्नुपर्छ । यसतर्फ नीति तर्जुमा र व्यवहारिक कार्यान्वयनको खाँचो छ ।

स्थानीय तहमा भइरहेको सडक निर्माणलाई जग्गाको मूल्य अभिवृद्धिसँग जोड्ने भन्दा कृषि उत्पादन, आयात र निर्यातसँग जोडिनुपर्दछ । भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्दछ । खेतीयोग्य जमिनमा ठूला–ठूला घर बनाउने कामलाई तुरुन्त बन्द गरिनुपर्दछ । जमिनको उत्पादकत्व, माटोको गुणस्तर, खेतीसम्बन्धी ज्ञान र सीप तथा प्राविधिक तालिम व्यवस्था गरिनुपर्दछ । माटोको गुणस्तर, बालीनाली, पशुपन्छीको जाँच र उपचार गर्ने प्राविधिक किसानहरू मध्ये बाटै हुनुपर्दछ ।

किसानहरूकोे ध्यान खेती किसानीमा मात्र जानुपर्दछ । उत्पादनको उचित मूल्य, यसको बिक्री वितरण र भण्डारणको व्यवस्था गर्न सरकार र सहकारीले जिम्मा लिनुपर्दछ । भारतको सिमानाबाट भित्रिने तरकारी संघीय सरकारले बन्द गर्नुपर्दछ । साथै तरकारीलगायत खाद्य सामाग्री आवश्यकताका आधारमा आफ्नै देशमा उत्पादन गर्ने योजना बनाइनु पर्दछ । उपलब्ध स्रोत, जल, जङ्गल र जमिन क्षमताका आधारमा उत्पादन अन्य देशमा निर्यात गर्ने योजनामा जोड दिनुपर्दछ ।

बेलाबेला देखापर्ने महामारी र प्राकृतिक प्रकोपबाट हुने नोक्सानी र क्षति राज्यले व्यहोर्नु पर्दछ । साथै किसानी गरेर सबै नागरिकलाई स्वस्थ खाना उपलब्ध गराए वापत किसानलाई पेन्सन र जीवन बीमा सुनिश्चित गरिनु पर्दछ । बिना धितो, कम व्याजदरमा र सरल तरीकाले ऋण उपलब्ध गराइनु पर्दछ । यस्तो ऋणमा साना किसानलाई पहिलो प्राथामिकता दिनुपर्दछ ।

कृषिमा गरिने लगानीले किसानहरूको जीवन सम्मानित बनाउँछ । जमिनको उपयोग बढ्छ । कृषि उत्पादनमा वृद्धि हुन्छ । खाद्यान्नमा रहेको परनिर्भरता घट्छ । रोजगारी बढ्छ । अनि देश अग्रगामी र समृद्धिको बाटोतर्फ अघि बढ्छ । यसले अन्य सबै खाले विकासका लागि बलियो आधार तयार गर्दछ ।

प्रकशित मिति : बिहिबार, मे ७, २०२०