कोरोना माहामारी र कृषिको सम्भावना

विनोद सुनार

विश्वको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्धपछि विश्व समुदायले भोग्नु परेको कहालिलाग्दो मानव सङ्कट कोरोना भाइरसको कारण खडा भएको छ । डिसेम्वर २०१९ देखि चिनको वुहान सहरबाट सुरु भएको यो भाइरसले हाल विश्व व्यवस्थालाई नै तहस नहस पारेको छ ।

यसको फैलिने क्रम नरोकिएपछि ३० जनवरी २०२० को दिन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकालको घोषण गर्याे । हाल विश्वको २१२ वटा राष्ट्रलाई यो भाइरसले प्रभावित गरिसकेको छ । शक्तिशाली राष्ट्रहरूलाई समेत आफ्नो नागरिक बचाउन मुस्किल परिरहेको छ । क्यानडा, डेनमार्क, स्वीडेन, नर्वे, जर्मनी, युके तथा जापानलगाएतका स्वास्थ्य सुविधा सम्पन्न र बलियो अर्थतन्त्र भएको विश्वका शक्तिशाली राष्ट्रहरूको चिकित्सा विज्ञानलाई नै चुनौति दिंदै फैलिएको यो रोगले अन्य विकाशसिल र अल्पविकसित मुलुकहरूको जनजीवन र मावन स्वास्थ्यमा प्रभाव नपर्ने त कुरै भएन ।

माहामारिको कारण हालसम्म ३५ लाख ६६ हजार भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् । २ लाख ४८ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ ।

विश्व मानव समुदाय नै आक्रान्त भएको यो सङ्कटको घडिमा नेपाल पनि यो महामारिबाट प्रभावित हुन पुग्यो । भलै सुरुको अवस्थामा यसको खासै प्रभाव देखिएन तर विस्तारै यसले प्रभाव बढाउदै लगेको देखिन्छ । नेपालमा ७५ जना सङ्क्रमित भइसकेका छन् । ती मध्ये १६ जना लामो समयको उपचारपछि पूर्ण रुपमा निको भई घर फर्केका छन् भने ५९ जनाको उपचार भइरहेको छ । नेपालमा भने यसबाट मृत्यु हुनेको सङ्ख्या शुन्य छ । सङ्क्रमणबाट बच्न र बचाउनको लागि देशैभर २०७६ चैत्र ११ देखि लकडाउन गरिएको छ । यसले मानव स्वास्थ्य र जीवन शैलिमा नराम्रो प्रभाव पारिरहेको छ ।

समस्याहरू

विश्व माहामारिको रुपमा फैलिएको यो कोरोना भाईरसलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउनको घोषणा गरे लगत्तै देशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यावसाय, दैनिक ज्यालामजदूरी, वित्तीय कारोवार लगाएतका क्षेत्रहरू प्रभावित भएका छन् । विश्वको उदयमान अर्थतन्त्र भएको शक्तिशाली राष्ट्रहरूले त घुडा टेकेको यो सङ्क्रमणको घडिमा नेपाल जस्तो विकाससिल र कमजोर अर्थतन्त्र भएको देशले पनि यो मार नखेपेर सुखै छैन ।

दैनिक ज्यालादारीमा आश्रित श्रमजिवी वर्गको पेशा बन्द हुदाँ भान्सामा चुल्हो निभ्ने सम्भावना बढी हुन्छ । किसान वर्गले उत्पादन गरेको कृषि उपजहरू बजारसम्म पैठारी हुन नसक्दा किसान वर्गको लगानी चुर्लुम्म डुवेको छ । व्यवसायिक रुपमा पालेको पशु तथा पंक्षिहरूकोे लागि आवश्यक दानाको आपूर्ति नहुँदा चारो छर्की प्राणको रक्षामात्र गर्ने काम भएकोछ ।

कलकारखानामा कामकाज गर्ने श्रमिकहरूको आयस्रोतको बाटो बन्द भयो । अन्तर्राष्ट्रिय मुद्रा भित्र्याउने हेतुले कयौं पर्यटन व्यावसायीहरूले वित्तिय संस्थाहरूबाट ऋण लिई लगानी बढाए । हाल उनीहरूले बैंकहरूलाई किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

नियमित र उचित पारिश्रमिक पाइने ठूलो आशामा गाँउबाट बजार छिरेका मजदूरहरूको ठूलो सङ्ख्याले नत सहजरुपले बजारमा खान पाएका छन् नत सहजरुपले आफ्नो गाउँनै जान पाएका छन् । बजारमा भोकभोकै बस्न नसक्दा मजदूरहरू विभिन्न अवरोध पार गर्दै हप्तौं दिन पैदल हिडेर गन्तव्यमा पुगेको उदाहरण समाचारमा आइरहेका छन् ।

राज्यले यस्ता नागरिकलाई नत पेटभरि खान दियो नत सुखसँग गन्तव्यमा जान नै दियो । वैदेशिक रोजगारीमा भएका लगभग ६० लाख भन्दा बढी नेपाली कामदारहरू कामकाज बन्द हँुदा महिनौदेखि कोठमा थुनिएका
समाचार आइरहेका छन् । उचित पारिश्रमिक पाउने आशामा सिमापारी पुगेका हाम्रा दाजुभाईहरू रोजिरोटी बन्द हुँदा सीमा नाकामा अलपत्र परेका छन् । उनीहरूको सहज उद्दार गर्न नसक्दा राज्य यतिखेर नैतिक सङ्कटमा परेको हुनुपर्छ ।

माहामारी फैलिन सक्ने जोखिमका कारण नत सीमा नाका खुल्ला गर्न सकेको छ, नत अलपत्र परेकाहरूलाई उचित व्यवस्थापन नै गर्न सकेको छ । वैदेशिक रोजगारबाट आउने हाम्रा दाजुभाईहरूलाई देख्न साथ ससङ्कित हुनु पर्ने अवस्था सिर्जना भएको छ । माया मोह, स्नेह प्यारको लागि आपसमा नजिकिने देहहरू आज भौतिक दुरि कायम गरि बस्न बाध्य छन् । माहामारी र लकडाउनको कारणले यी समस्याहरू झेल्दै गर्दा राज्यले फेरि केही चुनौतीहरू भोग्ने सङ्केत देखा परेको छ ।

मैले देखेका केही चूनौतीहरू

विश्व कृषि क्षेत्रको उत्पादन र उत्पादकत्मा कमि हुन जाँदा खाद्य सङ्कटको सम्भावना बढ्ने देखिन्छ । सङ्कटको कारण नागरिकहरू माथि राज्यको दायित्व अझ बढेर जानेछ । मानिसको मनोविज्ञानमा प्रतिकूल असरहरू पर्ने देखिन्छ । नेपालमा विगत केहि वर्षमै हासिल गरिएको गरिबी न्यूनिकरण तथा बेरोजगारी समस्या उकालो लाग्ने देखिन्छ । विभिन्न क्षेत्रमा प्राप्त हँुदै आएको वैदेशिक साहायता कटौती हुने प्रचुर सम्भावना देखिन्छ । भ्रष्टाचार, कालो बजारी, चोरी डकैती बढ्न सक्ने तथा विकासको गति सुस्त हुन सक्ने सम्भावना छ ।

कृषि क्षेत्रको सम्भावना

कृषि पेशालाई अनियमित आयस्रोत, आयमा योगदान नहुने र सम्मान जनक पेशाको रुपमा नहेरिँदा आज देशको ६० लाख उत्पादनशिल जनशक्ति विश्व बजारमा बेचिन बाध्य छन् । वैदेशिक रोजगारिको राष्ट्रिय आयमा ३० प्रतिशत योेगदान भए पनि यो दिगो नहुने कुरा यो माहामारिको परिस्थितिले प्रमाणित गरि नै सक्यो । यस्तै परिस्थिति लम्बिदै गयो भने वैदेशिक रोजगारीमा आउने उथलपुथलका कारण लाखौं मानिसले रोजगारी गुमोउने र आगामी दिनहरूमा विश्वले ठूलो आर्थिक सङ्कटको भार खेप्नुपर्ने हुन सक्छ ।

एकातिर राज्यमा खेतीयोग्य हजारौं विघा जमिन बाँझै रहेको छ भने अर्काेतर्फ नेपालले वर्षेनी २ खर्ब रुपियाँ बराबरको धनराशी खर्च गरि कृषि जन्य वस्तुहरू जस्तै खाद्यान्न, तेलहन र फलफूलहरू आयात गर्न परिरहेको छ । विभिन्न पेशा व्यवसायबाट नागरिकले आय आर्जन गरेपनि कूल आएको ठूलो हिस्सा आयातित कृषि उपभोग्य वस्तुहरूमा खर्च भईरहेको छ । निर्यातभन्दा आयात बढी हुदाँ राज्यले व्यापार घाटा खेपिरहनु परेको छ ।

नेपालमा विविध किसिमको भुगोल र हावापानी भएकोले हिमाली, पहाडी र तराई क्षेत्रमा हावापानी अनुसारको कृषिको अपार सभावना रहेको छ । नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान रहेको छ । नेपालको करिब ६५ प्रतिशत मानिसहरूको मुख्य पेशा कृषि भएकोले यो उनीहरूको जीवन यापनको प्रमुख आधार बनेको छ ।

तराई क्षेत्र अन्नको भण्डार भनिन्छ । जहाँ प्रचुर मात्रामा धान, तेलहन, दलहन, केरा, लिची लगाएतका वस्तुहरू उत्पादन हुन्छ । पहाडी क्षेत्रमा कोदो, मकै र अन्य फलफुलहरू उत्पादन हुन्छ भने हिमाली क्षेत्रमा भने जौ, फापर, अमुल्य जडिबुटीहरू उत्पादन हुने गर्छ ।

माहामारिको यो सङ्कटको घडिमा आधुनिक कृषि प्रणलीलाई समेत नराम्ररी प्रभावित भएको छ । उत्पादन र उत्पादकत्मा अवरोध सिर्जना भएको छ । तर नेपालको परम्परागत कृषि प्रणालीलाई भने कमै असर गरेको छ । समयअनुसारको कृषि कार्य भइरहेको छ । किसानहरू कृषि कार्यमा व्यस्त रहेका छन् । अहिले पनि समय र मौसम अनुसारको कृषि कर्म चलि नै रहेको छ ।

उमेर ढल्केका वृद्धवृद्धालाई गाउँमै छोडि सहर भासिएकाहरू माहामारिको सन्त्रासले गाउँतिरै फर्केर कृषि कर्म सुरु गर्न थालेका समाचारहरू पनि आउन थालेका छन् । यो समयमा कृषि कर्म गर्ने मानिसहरूमा खाद्यान्नको सङ्कट खासै देखिएको छैन । सबै कृषकहरूसँग समय अनुसारको खाद्यान्न सञ्चित रहेकोछ । तर अन्य पेशा व्यवसाय गर्नेहरूमा भने सङ्कट देखिएको छ । यसले पनि प्रमाणित गरेको छ कि कृषि भनेको एक दिगो पेशा हो । यसलाई कुनै तत्वले हतपत प्रभाव पार्दैन ।

कहरले सिर्जना गरेको अवसर

माहामारिको कारण सहरी क्षेत्रमा लामो समय व्यथित गरेको कयौं मानिसहरू ग्रामीण क्षेत्रमा गई कृषिमा व्यस्त देखिन थालेका छन् । लामो समयदेखि लकडाउनको मार खेपी विदेशको कोठाकोठामा थुनिन बाध्य भएका नेपाली हरूमा पनि आज स्वदेशको माटो, भूमि र कृषि पेशाको मोह बढ्न थालेको छ । कोठामा थुनिएर बस्न बाध्य सहरी परिवारहरू माहामारिको सङ्कटले मानसिक तनाव खेपिरहेको छन् भने ग्रामीण समुदायका मानिसहरू दैनिक कृषि पेशामा तल्लिन हुदाँ तुलनात्मक रुपमा तनावबाट मुक्त देखिन्छन् । कृषि उपजमा गिरावट आउदा सिमित वस्तुको पूर्ती हुने तर माग बढी हुदाँ त्यसको मुल्यमा निकै उतार चडाव हुने कुराको भेउ सबै नागरिकले पाइसकेका छन् । चाहेर वा नचाहेर पनि सबैले आजको परिवेशमा कृषिलाई अपनाउने प्रर्याप्त आधार सिर्जना हुन थालेको छ ।

हवाई मार्ग खुल्नसाथ तुरुन्त नेपाल आउन विदेशमा रहेका रहेका दाजुभाईहरू गोडा उचेलेर बसेका छन् । पत्रपत्रिका, मोवाइल र सामाजिक सञ्जालहरूमा भए देखेको प्रमाणहरूको आधारमा पनि भन्न सकिन्छ कि यो सङ्कट केहि कम हुँनासाथ नेपाल धित्रिनेको ओइरो लाग्नेछ । ती नागरिकहरू आउन साथ राज्यले उचित रोजगारिको सिर्जना नगरे ठूलो बेरोजगारी समस्या झेल्नु पर्नेछ । आम युवाहरूलाई कृषि क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गर्न सके केहि समयमानै यो चुनौतीलाई अवसरको रुपमा रूपान्तरण गरि कृषिमा आमुल परिवर्तन आउने सम्भावना रहेको छ।

राज्यले देशमा युवाहरूको लागि रोजगारी सिर्जना गर्न सुरुवात गरेको कुरा विगतमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पनि पुष्टि हुन्छ । अझै पनि देशको ठूलो सङ्ख्यामा नागरिकहरू भूमिहीनको हैसियतमा रहेका छन् । राज्यले कृषिमा गरेको लगानी पर्याप्त छैन । धनी र हुनेखाने वर्गले ठूलो हिस्सा जमिनमा खेती नगरि ओगटेरै राखेका छन् ।

भूमिहीनलाई जग्गा वितरण, आधुनिक कृषि प्रणाली अवलम्वन, कृषि क्षेत्रको लगानीमा वुद्धि, कृषिको लागि सहुलियत पूर्ण कर्जाको व्यवस्था, उचित बजार व्यवस्थापन गर्न सके छोटो समयमानै कृषिमा अवश्य कायपलट हुनसक्छ ।

प्रकशित मिति : मंगलबार, मे ५, २०२०

CSRC Nepal