महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड– १९’ ले विश्वलाई नै त्रसित बनाएको छ । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित भइसकेका छन् । खुसीको विषय १६ जना निको भएर घर फर्किसके । यतिबेलासम्म कसैको पनि मृत्युको खबर सुन्नु परेको छैन ।
महामारीको रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थियो, वैशाख २५ गतेसम्म जारी छ । यातायात, उद्योगधन्दा कलकारखाना, संघ संस्था र शैक्षिक संस्था सबै ठप्प छन् । आफन्तकोमा समेत आउजाउ र भेटघाट गर्न पाउने स्थिती छैन् । दिनहुँ श्रम गरी खाने वर्गलाई जीवन गुजारा गर्न कष्ट हुँदै गएको छ ।
सरकारले चैत्र ११ गतेबाट लकडाउन गर्ने घोषणा १ दिन अघि अर्थात चैत १० गते मात्र ग¥यो । कार्यालयको काम सकी बेलुका ६ बजे घर पुगेपछी मात्र यसबारे थाहा पाएँ । त्यसको दुई दिन अघि नै सार्वजनिक यातायातमा रोक लगाइएको सुनिएको थियो । कोही पनि घरबाट बाहिर निस्कन नपाइने, हिड्डुल गर्न नमिल्ने, बाहिर हिडेमा कोरोना भाइरस सर्न सक्ने खबरले मन त्रसित बनायो ।
पहिलो हप्ता म पनि कतै ननिस्की लकडाउनको पूर्ण पालना गरि घरमै बसिरहेँ । घरमा एक्लै थिएँ । छोरीहरू परिक्षा सकेर गाउँ गएका थिए । लामो लकडाउन हुन्छ र एक्लै बस्नु पर्छ भनेर सोचेकी थिइन । फेरी यस अघि यस्तो लकडाउन भोग्नु परेको थिएन । दैनिक रुपमा कार्यालयमा काम गर्ने बानीले गर्दा घरभित्र एक्लै बस्नुपर्दा पिँजडा भित्रको सुगा जस्तो भएँ । छटपटी र डर भयो । मुख बोल्ने साथी पनि नभएकोले नमिठो महशुस भइरह्यो । टिभी र सामाजिक सञ्जाल हेर्ने बस्ने दिन चर्या मात्र भयो । खाली निराशा र डरमात्र बढ्ने समाचारले दिक्क बनाउँथ्यो । मृत्यु र सङ्क्रमितको सङ्ख्याले कतै संसार नै सकिन्छ की झैं भयो ।
घरमा म एक्लो छु भन्ने कुरा मलाई माया गर्ने धेरैलाई थाहा थियो । फोन गरेर वा मेसेज पठाएर एक्लै कसरी बसेकी छस् ? पकाएर खान्छेस् कि खान्नस् ? अल्छी नगरी पकाएर खानु, तँलाई आज्मा छ यस्तोलाई कोरोनाले चाँडो आक्रमण गर्छ रे भन्ने गर्नु हुन्थो । नजिक हुने आफन्तले राती लिन आउछाँै सँगै बसाँै भनेर भन्नुुहुन्थो । यत्ति भनिदिँदा पनि मलाई ठूलो साथ मिलेको आभास हुन्थ्यो ।
म कतै नगई एक्लै घरमा नै बसिरहेँ । जाँगर लागे पकाएर खान्थे । मनमा अनेक कुरा खेलिरहन्थ्यो । डायलासिस गरेकी आमालाई यो बेलामा गाह्रो भयो भने के गर्ने होला ? कोरोनाले सबै भन्दा बढी क्षती पुगेको देश अमेरिकाको न्युर्योकमा एक्लै बसेको भाई रविनको यादले घरि घरि मन पोलिरहन्थ्यो । म आफ्नो देशमा छु । आफ्नै घरमा बसेको छु । एक्लै बस्दा यती छटपटी र पीडा भयो भने ऊ अर्काको देशमा एक्लै बस्दा कति पीडा भयो होला ? मनमा यस्तो सोच आइरहन्थ्यो । सुरुको हप्ता दिनको एक पटक आमा र भाईसँग कुरा गरियो । मनमा केही शान्त अनुभव भयो । अरु आफन्तलाई पनि रविन भाईको चिन्ता बढी नै थियो । सबैले फोनमा भन्नुहुन्थ्यो रविन भाईको खबर के छ ? बारम्बार सोधिरहनुहुन्थो ।
घरको सरसफाई र फुलको हेरचाह राम्ररी गरियो । डा. नम्रता र डा.प्रधुम्नराज पाण्डेले लेखेको रहस्य जीवन र प्रेम, नारायण ढकालले लेखेको प्रेतकल्प र मोहन मैनालीले लेखेको उपल्लो थलो पुस्तक पढी सकेँ । यसरी कितावहरू पढ्दा समय बिताउन सजिलो हुने रहेछ । मनमा शान्त अनुभव पनि हुँदो रहेछ ।
कार्यालय भूमि घर पनि बन्द थियो । बेलैमा सचेतता अपनाउनाले टाढाका सबै साथीहरू घरपरिवारमा पुग्न पाउनुभयो । १२ औं दिन पुग्दासम्म अफिस र साथीहरूलाई धेरै सम्झेँे । कहिले भेटौ, कहाँ भेटौं भन्ने जस्तो गरी न्यास्रो लाग्यो । यसबीचमा प्रत्येक हप्ताको शुक्रबार अनलाइन बैठक पनि हुने गर्दथ्यो । जो साथीहरूसँग इन्टरनेट सुविधा थियो, उनीहरूसँग मात्र कुराकानी हुन सक्थ्यो ।
प्राविधिक कठिनाईका कारण मैले पहिलो स्काईप कल मिस गरेँ । सृष्टि बहिनीको सहयोगमा दोस्रो पटकको अनलाईन बैठकमा भने सहभागी भएँ । साथीहरूसँग कुराकानी गर्दा खुसीको महशुस हुन्थ्यो । सबैले घरमै बसेर गरेको कामको अवस्था सुनाउने र आउने हप्तामा के गर्न सकिन्छ, आफ्नो कुरा सुनाउनु हुन्थ्यो । कार्यक्रम खटिनु हुने टिमका साथीहरूको त घरमा बसेर पनि गर्न सकिने काम केहि न केहि हुँदोरहेछ । तर ब्यवस्थापन टिमका सदस्यको भने कार्यालयमा नआई ईमेल हेर्न र लेख्ने पढ्ने बाहेक अरु काम गर्न सकिँदो रहेनछ ।
टिममा छलफल हुँदै गएपछि सावधानी अपनाएर नजिक हुने साथीहरू अफिसमा आएर काम गर्ने सहमति भयो । हामी ४/५ जना साथीहरू लकडाउनको १३ दिनदेखि अर्थात चैत्र २३ गतेदेखि कार्यालयमा जान थाल्यौँ । संस्थाका कार्यकारी निर्देशक त लकडाउनको चौथो दिनबाट कार्यालयमा नियमित आउन जान थाली सक्नु भएको थियो।
कार्यालयमा गर्नुपर्ने काम धेरै थिए । कहाँबाट काम सुरु गर्ने ? कता पु¥याएर अन्त्य गर्ने जस्तो अलमल लकडाउनपछि कार्यालय गएको पहिलो दिन यस्तै महशुस भयो । कार्यालय शुन्य जस्तै लाग्यो । कुर्सीहरू खाली थिए । साथीहरूलाई धेरै मिस गरेको अनुभुती भयो । कमला जी पनि हुनुहुन्थ्यो, हामीले सरसफाई ग¥यौं, यसैबाट काम थाल्यौं । यसपछिका दिनमा खाना बनाउने र सरसफाई गर्ने काम मिलेर गरेकाछौं । अफिसमा काम गर्दा आनन्दको मशसुस भयो । दिन कटेको पनि पत्तो भएन । विहान ८ बजे भित्र अफिस पुग्ने र बेलुका ६ बजे पछाडि घर फर्किने काम नियमित हुँदैछ ।
मार्च महिनाको तलब कसरी पठाउने भन्ने चिन्ता प¥यो । सम्बन्धित बैंकमा सम्पर्क र समन्वय गरी निकै मुस्किलका साथ विकास दाईको सहयोगमा तलब सबै कर्मचारी साथीहरूको खातामा पठाइएको छ । तलब भुक्तानीपछि सबै साथीहरूलाई केही सहजिलो भएको महशुस भयो । र काम सम्पन्न भएकोमा सन्तुष्टी पनि मिल्यो । फोनमार्फत बोर्ड, अडिट कमिटी, साधारण सदस्य र समुदायका अगुवाहरूसँग कुराकानी गर्दा उहाँहरूको खुसी र माया पाउँदा आफूलाई पनि काममा सन्तुष्टी र थप ऊर्जा मिल्यो । यस्तो बेलामा सामान्य सञ्चो विसञ्चो सोध्दा पनि धेरै राहात र खुसी मिल्ने रहेछ ।
हाम्रा सङ्गठनका सदस्यहरूमा दिन प्रति दिन खाद्यान्न सकिँदै गएको कुरा गर्नु भयो । कतिले आफ्नो क्षमताले भ्याएको स्थानीयस्तरमा गर्न सकेको सहयोग पनि सुनाउनु भयो । हामीले पनि हाम्रो संस्थाको क्षमताअनुसार महोत्तरीमा २६ र सर्लाहीमा १४३ मुसहर परिवारलाई जिल्ला मञ्चसँगको सहकार्यमा खाद्यान्न सहयोग गरियो । सानो कार्य गरेको भएपनि सन्तुष्टी मिल्दो रहेछ । यहाँबाट रकम पठाउन धेरै मेहनत गर्नुप¥यो ।
सहयोगी संस्थाबाट पनि पटक पटक फोन आउने गर्दथ्यो । रिपोर्टिङको लागि के गर्न सकिन्छ ? डेडलाईन भित्र रिपोर्ट पठाउन पाए राम्रो हुन्थ्यो । भएको खर्चको प्रतिवेदन पठाउनको लागि आग्रहहरू गर्नुहुन्थ्यो । सकेको हामीले ग¥यौं पनि ।
लडडाउनको बीचमा सुुख र दुःखका क्षणहरू पनि आए । जसमा संस्थामा लामो समयदेखि सङ्घर्ष गर्दै आउनुभएका कार्यकारी निर्देशक जगत देउजा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य पदमा नियुक्त हुनु भएको खबर सञ्चार माध्यममा पढ्न पाउँदा धेरै खुसी भएँ । दिनभरी काम गर्ने छुट्टै माहोल र ऊर्जा मिल्यो । त्यस क्षण मैले संस्थामा सन् २००१ मा आइपरेको दुःखद् घटनालाई एक पटक फेरी सम्झेँ । सिन्धुपाल्चोक किउल हेलम्बुको डाँडाकाँडामा हिँडेको र त्याहाँका समुदायका मानिसलाई झलझली सम्झे । दुःखमा नआत्तिने सुखमा नमात्तिने, खाएको बिष लाग्छ, नखाको बिष लाग्दैन एकदिन पक्कै दुःखको फल प्राप्त हुन्छ भन्ने उखान सत्य सावित भएको ठानेँ ।
त्यसैगरी दुःखको क्षण पनि आइलाग्यो । एकै दिनमा संस्थामा कार्यरत यशोदा सापकोटा र मेनुका आचार्यको जन्मदिने बुवाको मृत्यु भयो । केही दिन पछाडि विकास दाईको माईज्युको पनि मृत्युको खबर सुन्नु प¥यो । यस्तो दुःखद् घडिमा पनि भेट्न जान नपाउँदा साह्रै दुःख लाग्यो ।
यहीबीचमा सावित्री पुरीको आमालाई एपेन्डिसाइड भई अपेशन गर्नु परेको खबर पनि आयो । शिघ्र स्वास्थ्य लाभको कामना गरियो । नजिकै भएको हुनाले कमला गौतमको छोरीको पत्थरीको अपरेसन पछि भने हिँडेरै भए पनि चिरायु हस्पिटलसम्म पुगेर भेटेँ ।
वैशाख ११ गते आमाको मुख हेर्ने दिन थियो, त्यस दिनमा पनि विरामी आमालाई भेट्नको लागि सिन्धुपाल्चोक जान सकिएन । उक्त दिनमा धेरै छोरीहरूले फेसबुक र फोनमार्फत आमाको मुख हेरी चित्त बुझाए । मैले पनि यसपाली त्यसै गरेँ । वैशाख १४ गते ठूलो जेठाजुको छोरा मनिषको बिवाह भयो । तर सामेल हुन पाइएन । दुःख लाग्यो ।
५ वर्षदेखि नियमित मृगौलाको डायलासिस् गरिरहनु भएकी आमाको डायलासिसको औषधी लिन जाँदा निदान हस्पिटल पुल्चोकमा भर्ना भएका विरामी र होमोडायलासिस् गर्ने विरामीको लाइन देख्दा लकडाउन नै नभएको जस्तो लाग्यो । एकजना डायलासिस गर्ने आमाको कुरुवा हस्पिटलको प्यासेजको एक कुनामा स्टोभमा खाना बनाउँदै हुनुहन्थ्यो । छेउमा एक सेट ओड्ने–ओछयाउने सहित विरामी सुताएको थियो । यो दृश्य देखेँपछि म नबोली रहन सकिन । सोधेँ, मलिन अनुहारमा भन्नुभयो, आमाको हप्तामा २ चोटी होमोडायलासिस् गर्नुपर्छ । घरवेटीले घर र हस्पिटल आउने जाने गर्ने हो भने तिमीले मेरो घरमा कोरोना लिएर आउछौं । कोठा छोडिदिनु भनेछन्, । अनि लकडाउन भरी हस्पिटलसँग अनुरोध गरी यही बस्ने गरेको । हेर्दा विरामीको जिउ सुन्निएको थियो । साहै्र गाहो भएको देखिन्थ्यो । यो स्थिती देख्दा मन नै छियाछिया हुने गरी दुख्यो । धन्य छ, गरिबको जीवन जस्तो लाग्यो । अर्काको घरमा बस्दाको दुःख र पीडा । आफ्नो घर भइदिएको भए सायद यस्तो नियती झेल्नु पर्देनथ्यो होला ।
आमालाई मासिक रुपमा लगाउनुपर्ने होमोग्लोविनको सुई सिन्धुपाल्चोकमा समयमा पठाउन नपाउँदा दुई रात राम्रोसँग निन्द्रा पनि लागेन । आमालाई केहि भैहाल्लाकी भन्ने चिन्ता लागिरह्यो । आमालाई नियमित रुपमा जाँची रहने डा.कल्पनालाई फोन गरेर सोधेँ, दुई चार दिन ढिला हुँदा केहि फरक पर्दैन होला नि । उहाँले हुँदैन । तर, रगत घट्यो भने समस्या हुन सक्छ, भन्नुभयो । विरामीको औषधी लिएर जान त दिई हाल्छ नि ढिला नगर्नुहोस् भन्नुभयो । झन् बढी डर लाग्न थाल्यो । तुरुन्तै सिन्धुपाल्चोकमा हस्त दाईलाई फोन गरेर समस्या बताएँ । त्यहि दिनमा बेलुका दाईले भोली हेलम्बु गाउँपालिकाको एम्बुलेन्स विरामी लिएर आउदै छ भनेर एम्बुलेन्सको फोन नम्बर मेसेज गरिदिनु भयो । भोलीपल्ट एम्बुलेन्सबाट केही वाकस पानी र औषधी पठाएपछि ढुक्क भएँ । एम्बुलेन्स चालक किउलको मिठ्ठे दाई (अहिले हुनुहन्न, उतिबेला त्यहाँ बस्दा एकै परिवार जसरी बसिएको थियौंँ) को छोरो रहेछन् । चिनकै मान्छे हुँदा सजिलो भयो ।
धेरैले यस्तो बेलामा पनि अफिसमा गएर के काम हुन्छ ? कति अफिस अफिस भनेर दौडेको ? बस्न पाएको बेलामा मजाल बस्नु नि भन्ने सुझाव दिए । मलाई भने कार्यालय नजिक भएर काम गर्न सकेकोमा खुसी लागेको छ । काम नगरी बस्न गाह्रो हुँदो रहेछ । यस समयमा आफू र संस्थाले गरेकै कामबारे सोच्ने समय बढी भयो । संस्थाले भूमि अधिकार र दिगो कृषिबारे गरेको काम ज्यादै महत्वपूर्ण रहेछ भन्ने थप महशुस भयो ।
खानेकुरा कति महत्वपूर्ण छन् र यसले मानव स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने झन बढी महशुस भयो । खानाको सबभन्दा बढी समस्या मजदूरलाई भयो । मजदूर को हुन् ? त्यही जमिन नभएका मानिसहरू । ति सबै मेहेनति मजदूरलाई जमिनमा हक कायम गर्नको लागि काम गरेको संस्थामा जोडिन पाउँदा गर्व लाग्यो । स्रोत आउला वा नआउला । आफ्नो क्षमताले सकेको गरिनै रहनेछु भन्ने दृढ विश्वास झनै बढायो । अफिसमा पनि सामाजिक दूरी कायम गरी सावधानीपूर्वक काम गरियो । १० मिनेटमा घर पुगि हालिन्छ । अफिस भित्र पसेपछि सुरक्षित होइन्छ ।
कहिलेकाही काममा विरक्त पनि लाग्छ । विरामी आमासँग यस्तो बेलामा केही दिन बस्न पाएको भए हुन्थ्यो नि । यस्तो कुरा मनमा नआएको पनि होइन । जे होस् गरिव समुदायका लागि काम गरेका छौँ । बाँचुन्जेल काममा नै रमाउने हो आफ्नो क्षमताले भ्याए सम्म गरौँ । काम गरेर मरिँदैन भन्ने भावनाले नै यस्तो लकडाउनमा पनि विहान ८ बजे देखि बेलुका ६ बजेसम्म काम गरिराखेको छु । यस अवधिमा जम्मा १२ दिन मात्र घरमा बसेँ बाँकी दिन अफिसमै ।
प्रकशित मिति : मंगलबार, मे ५, २०२०
(उक्त लेख, नागरिक दैनिकमा २०७७ वैशाख १९ गते प्रकाशन भएको थियो ।)